धादिङस्थित त्रिशूली नदीमा जलसतह तीन मिटर बढ्यो : चिरौदीमा चार घर बगायो

धादिङस्थित त्रिशूली नदीमा जलसतह तीन मिटर बढ्यो : चिरौदीमा चार घर बगायो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ भाद्र २०८३
  • 1.1K
    Shares

पोखरा , १४ भदौ २०८३।

अविरल वर्षासँगै आएको बाढीले धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा चारवटा घर बगाएको छ। बाढीले स्थानीयका घर बगाए पनि घटनामा मानवीय क्षति भने नभएको जनाइएको छ।

स्थानीयका अनुसार बाढीले कर्णबहादुर मगर, रामलाल श्रेष्ठ, रामबहादुर अधिकारी र अर्जुन भुजेलको घर बगाएको हो। बाढीले घर तथा भौतिक संरचनामा क्षति पुर्‍याए पनि घरमा रहेका मानिसहरू सुरक्षित रहेको बताइएको छ।

यसैबीच, त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढ्दै गएपछि नदी तटीय क्षेत्र जोखिममा परेको स्थानीय प्रशासनले जनाएको छ। प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले नदीको बहाव बढिरहेको अवस्थामा तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानमा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ।

यसैबीच प्राप्त जानकारी अनुसार , रसुवाको भोटेकोशीमा आएको बाढीका कारण गल्छीस्थित बाढीमापन केन्द्रमा धादिङस्थित त्रिशूली नदीमा जलसतह तीन मिटर बढेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले नारायणी नदी तथा यसका सहायक नदीमा समेत जलसतह बढ्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भोटेकोसीको बहाव बढेको भन्दै रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो।

गत भदौ १० गते तिब्बतबाट आएको भीषण बाढीले भोटेकोसी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

प्रतिक्रिया