भोटेकोशी बाढीको वितण्डा : एकसय ५७ शव फेला, ४१ घाइते उपचाररत, सडक–पुलदेखि जलविद्युत् आयोजनासम्म ठूलो क्षति

भोटेकोशी बाढीको वितण्डा : एकसय ५७ शव फेला, ४१ घाइते उपचाररत, सडक–पुलदेखि जलविद्युत् आयोजनासम्म ठूलो क्षति


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ भाद्र २०८३
  • 931
    Shares

काठमाडौं, ११ भदौ २०८३।

रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीले नदी तटीय बस्ती, बजार, सडक, पुल, जलविद्युत् आयोजना, बैंक तथा अन्य भौतिक संरचना बगाउनुका साथै ठूलो मानवीय क्षति गरेको छ।

नेपाल प्रहरीको बुधबार राति ११ः०५ बजेसम्मको अद्यावधिक विवरणअनुसार बाढी तथा पहिरोमा परी एकसय ५७ जनाको शव फेला परेको छ। रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ४१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २०, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पतालमा १, ग्रिन सिटी अस्पतालमा १, नर्भिक अस्पतालमा ३ र त्रिशूली अस्पतालमा ९ जना उपचाररत छन्।

१९ पुल र ४० किलोमिटर सडकमा क्षति

बाढीले भौतिक पूर्वाधारमा समेत व्यापक क्षति पुर्‍याएको छ। सडक विभागका अनुसार भोटेकोशी–त्रिशूली नदी करिडोरमा कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ भने करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएको छ।

चीनतर्फबाट बुधबार बिहान आएको भीषण बाढीले रसुवादेखि धादिङसम्मका त्रिशूली नदी तटीय क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ । बाढीले मलेखुको फुर्केखोला-परेवाटार, गजुरीको जहरे खेत-सिद्धलेक र घाटबेंसीमा रहेको पक्की पुल बगाएको छ । यसबाहेक तटीय क्षेत्रका पाँचवटा झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ ।

सदरमुकाम धादिङबेंसीलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य फुर्केखोला-परेवाटार पुल नै बगेपछि सदरमुकामको राजमार्गसँगको सहज सम्पर्क टुटेको छ । राजमार्गसँगको सम्पर्क विच्छेद भएपछि सदरमुकाममा खाद्यान्न संकट हुने त्रासले उपभोक्ताहरू पसलहरूमा झुम्मिन थालेका छन् । 

केही स्थानमा सडकको ठूलो भाग नै बाढीले बगाएको छ। क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा मेसिन परिचालन गरी पुनः सञ्चालनको प्रयास थालेको छ।

बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, हाकुबेंसी, मैलुङलगायतका नदी किनारका बस्ती तथा बजारमा ठूलो क्षति पुर्‍याएको छ। नुवाकोटको ढुङ्गेबजार, त्रिशूली बजार, देवीघाटलगायतका क्षेत्र पनि प्रभावित भएका छन्। केही स्थानमा बस्ती, बजार, बैंक तथा अन्य संरचना नै बगाएको विवरण आएको छ।

जलविद्युत् र ऊर्जा संरचनामा ठूलो असर

बाढीबाट नदी किनारमा रहेका विभिन्न जलविद्युत् आयोजनाका संरचनामा समेत गम्भीर क्षति पुगेको छ। रसुवागढी, सान्जेन, अपर सान्जेन, चिलिमे, लाङटाङ, अपर त्रिशूली–३ ए, अपर मैलुङलगायतका आयोजनाका संरचना प्रभावित भएका छन्। विद्युत् गृह तथा प्रसारण संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

रसुवागढी भन्सार क्षेत्रको भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ। बाढीले टिमुरे क्षेत्रको व्यापारिक तथा यातायात पूर्वाधारमा गम्भीर असर पुर्‍याएको छ। रसुवामा विभिन्न वाणिज्य बैंकका शाखासमेत प्रभावित भएका छन्।

उद्धार तथा खोजी कार्य जारी

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय उद्धार तथा खोजीमा परिचालित छन्। सञ्चार तथा विद्युत् सेवा अवरुद्ध भएका कारण प्रभावित क्षेत्रबाट विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको छ। बाढीमा हराइरहेका तथा सम्पर्कविहीन व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन।

सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। उद्धार, राहत, निःशुल्क उपचार तथा अवरुद्ध सडक, विद्युत्, खानेपानी र दूरसञ्चार सेवा पुनः सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।

प्रारम्भिक विवरणमै मानवीय क्षति अत्यन्त ठूलो देखिएको भए पनि बाढीले पुर्‍याएको कुल भौतिक क्षतिको यकिन विवरण अझै संकलन भइरहेको छ। पूर्वाधारमन्त्री सुनिल लम्सालले मात्रै भौतिक पूर्वाधारतर्फको क्षति करिब दुई खर्ब रुपैयाँ हाराहारी पुग्न सक्ने प्रारम्भिक अनुमान गरेका छन्।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत फैलिएकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। खोज तथा उद्धार कार्य पूरा भएपछि मात्रै विपद्को वास्तविक मानवीय र भौतिक क्षतिको विस्तृत तस्वीर आउने अपेक्षा गरिएको छ।

भोटेकोशी-त्रिशूली नदीमा चीनतर्फबाट भीषण बाढी: पुल र चार जलमापन केन्द्र बगाए, तटीय क्षेत्रमा उच्च सतर्कता

चीनको तिब्बत क्षेत्रमा आएको भीषण बाढी भोटेकोशी नदी हुँदै नेपाल प्रवेश गर्दा नेपालतर्फ व्यापक भौतिक क्षति पुगेको छ। जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार यस बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा रहेका महत्त्वपूर्ण पूर्वाधार तथा विपद् पूर्वसूचना प्रणालीमा ठुलो क्षति पुर्‍याएको छ।

चारवटा जलमापन केन्द्र र पुल बगायो बाढीको तीव्र बहाव र उच्च जलसहतका कारण नेपालतर्फको जल प्रवाह मापन गर्ने चारवटा प्रमुख जलमापन केन्द्रहरू पूर्ण रूपमा बगेका छन्। बगाइएका केन्द्रहरूमा रसुवा भोटेकोशी, रसुवा स्याफ्रुबेसी, नुवाकोट-बेत्रावती र धादिङ-मलेखु रहेका छन्। यी केन्द्रहरू बाढीले बगाएपछि ती क्षेत्रको जलसहतको वास्तविक तथ्याङ्क प्राप्त गर्न नसकिएको अनुसन्धान केन्द्रले जनाएको छ।

यसैगरी, धादिङको मलेखुमा रहेको फुर्के खोला जलमापन केन्द्र र सोही स्थानमा रहेको पुल समेत बाढीले बगाएको छ। उक्त केन्द्रमा बिहान ११:२६ बजे सतर्कता तह पार गरेको र ११:४३ बजे खतराको तह पार गरेको केही समयमै बाढीले यी संरचनाहरू बगाएको प्रतिवेदनमा उल्लेख छ।

भूकम्पपछि चीनतर्फबाट आएको थियो बाढी प्रतिवेदनका अनुसार भदौ १० गते बिहान ८:३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो। त्यसलगत्तै बिहान ८:५० बजे भोटेकोशी स्याफ्रुबेसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो। बिहान ९:०० बजे चीनतर्फ नदी थुनिएर ठुलो बाढी भोटेकोशीमा प्रवेश गरेको सूचना प्राप्त भएको थियो र ९:०५ बजे बाढी नेपाली सीमा क्षेत्रमा प्रवेश गरेको थियो।

बाढीको बहाव अत्यन्तै तीव्र गतिमा अघि बढेको थियो। भोटेकोशीबाट सुरु भएको बाढी बिहान १०:२८ बजे धादिङ-गाल्छी, ११:५० बजे मलेखु बजार, दिउँसो १:०० बजे मुग्लिन पार गर्दै दिउँसो ३:२० बजे चितवनको देवघाट क्षेत्रमा पुगेको थियो। देवघाट जलमापन केन्द्रमा बेलुकी ४:०० बजे जलसतह उच्चतम बिन्दु ६.५७ मिटर पुगेको थियो, जुन बेलुकी ६:३० बजे सामान्य अवस्था (४ मिटर) मा फर्किएको थियो।

लाखौँ नागरिकलाई पूर्वसूचना, जोगियो ज्यान बाढीको पूर्वसूचना समयमै प्रवाह गरिएका कारण नदी तटीय क्षेत्रका नागरिकहरूले सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भएका छन्। बाढी पूर्वानुमान महाशाखाले नेपाल टेलिकम र एनसेल मार्फत तटीय क्षेत्रका नागरिकहरूलाई ६ लाख ७९ हजार २ सय ९५ वटा सतर्कता सम्बन्धी मोबाइल SMS सम्प्रेषण गरेको थियो। यसका साथै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरू मार्फत पनि निरन्तर पूर्वसूचना प्रवाह गरिएको थियो।

जोखिम अझै कायमै चीनतर्फ नदी थुनिएर बनेको ताल अझै पनि पूर्ण रूपमा नखुलेकाले भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा जोखिम कायमै रहेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले नदी किनारका तटीय क्षेत्र तथा सम्भावित डुबन क्षेत्रका बासिन्दाहरूलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्रतिक्रिया