पोखरा/ हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमाल अन्नपूर्ण हिमालको आरोहण दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो ।
नेपालमा पहिलोपटक हिमाल आरोहण गरेको दिन जुन ३ तारिखलाई प्रत्येक वर्ष ट्रेकिङ एजेन्सीज् एसोसिएसन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण आरोहण दिवसकारुपमा विभिन्न कार्यक्रमका साथ मनाउने गरेको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारी बताउँछन् ।
नेपालमा आउने विदेशी पर्यटकमध्ये ७० प्रतिशतले पदयात्रा र १० प्रतिशतले हिमाल आरोहण गर्ने गरेको तथ्यांक छ ।
फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ ८ हजार ९१ मिटर रहेको छ । अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखको दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व. तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरेर कीर्तिमान कायम गरेका थिए ।
सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन हिमाल भएका कारण अन्नपूर्ण आरोहणको सफलताले उल्लेख्य चर्चा पाउन नसके पनि यसलाई विश्वमै सबैभन्दा ‘जेठो हिमाल’कोरुपमा चिनिन्छ ।