काठमाडौं, १४ भदौ २०८३।
रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले तटीय क्षेत्रका बासिन्दा तथा खोज, उद्धार र राहतमा खटिएका सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार भोटेकोशी नदीमा पानीको बहाव थप बढेको सूचना प्राप्त भएकाले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित क्षेत्रहरूमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको हो।
विशेषगरी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक तथा अन्य सम्बन्धित निकायका कर्मचारीलाई नदी तथा तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाएर मात्रै काम गर्न प्राधिकरणले आग्रह गरेको छ।
यसैगरी नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई पनि सुरक्षित स्थानमा रहन, नदीको बहाव नजिक नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
यसअघि पनि भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति भएको थियो। बाढीको प्रभाव त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भन्दै सम्बन्धित निकायले निरन्तर निगरानी गरिरहेका छन्।
प्राधिकरणले थप सूचना प्राप्त हुनासाथ अवस्थाबारे अद्यावधिक जानकारी सार्वजनिक गर्ने जनाएको छ।