काठमाडौं, १४ भदौ २०८३।
त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेकाहरूको उद्धार गर्न खटिएको टोली माथिल्लो भाग (क्राउन) सम्म पुगेको छ।
गृहमन्त्री सुधन गुरुङले फेसबुकमार्फत् सार्वजनिक सूचना जारी गर्दै सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको जानकारी दिएका हुन्।
‘हामीले उक्त सानो प्वालबाट हावा पठाउन शुरु गरिसकेका छौँ र अब खन्ने काम शुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ,’ उनले लेखेका छन्।
बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो।क्यामेरा र अक्सिजन सुरुङभित्र पठाउने कार्य शुरु भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ।
उद्धार टोलीले प्वालमार्फत अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरुङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको छ।
रसुवागढी हाइड्रोपावरबाट ९३ जना बेपत्ता, चार जनाको उद्धार
रसुवा । रसुवामा आएको बाढीपछि रसुवागढी हाइड्रोपावर आयोजनामा कार्यरत ९३ जना सम्पर्कविहीन भएका छन् भने चार जनाको उद्धार गरिएको छ।
रसुवागढी हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्कर अमात्यका अनुसार आयोजनाको डिस्यान्डर टनेल हेडवर्क्स क्षेत्रमा रहेका ९३ जना बाढीपछि बेपत्ता भएका हुन्। उद्धार गरिएका चार जनालाई सुरक्षित स्थानमा ल्याइएको छ।
अमात्यका अनुसार आयोजनाको पावरहाउस टनेलभित्र, घट्टेखोला क्षेत्रमा तथा डिस्यान्डर टनेलमा रहेका व्यक्तिहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ। तर उद्धार तथा खोजीका लागि अहिले पनि थप जनशक्ति र आवश्यक उपकरणको आवश्यकता रहेको उनले बताएका छन्।
बाढीका कारण आयोजनाको विभिन्न संरचनामा क्षति पुगेको छ। सम्पर्कविहीन व्यक्तिहरूको अवस्था पत्ता लगाउन सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित क्षेत्रमा खोजीलाई तीव्रता दिएका छन्।
स्रोत : पुष्कर अमात्य, प्रमुख कार्यकारी अधिकृत, रसुवागढी हाइड्रोपावर