काठमाडौं, १३ भदौ २०८३।
रसुवाको भोटेकोसी बाढीमा परेकाको उद्धार तथा खोजीमा सहयोग गर्न आएको भारतीय उद्धार टोली काठमाडौंस्थित भारतीय दूतावासमा आइपुगेको छ।
नेपाल सरकारको निर्देशनअनुसार टोली प्रभावित क्षेत्रतर्फ जाने तयारीमा रहेको नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले जानकारी दिएका छन्।
यसअघि नेपाल सरकारले विदेशी खोज तथा उद्धार टोलीको सहयोग तत्काल आवश्यक नरहेको भन्दै भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, श्रीलंका र बंगलादेशलगायत देशका प्रस्ताव अस्वीकार गर्दै आएको थियो।
तर, बाढी प्रभावित क्षेत्रमा उद्धार चुनौतीपूर्ण बन्दै गएपछि सरकारले आफ्नो पूर्ववत् अडान परिवर्तन गर्दै विदेशी उद्धार टोलीलाई नेपालमा परिचालन गर्न अनुमति दिएको हो।
भारतबाट ११ सदस्यीय चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरुङ उद्धारसम्बन्धी रेकी टोली शुक्रबार नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गरेको जानकारी भारतीय विदेशमन्त्री एस जयशंकरले दिएका थिए।
अब भारतीय टोली नेपाल सरकारको समन्वयमा रसुवा पुगेर उद्धार तथा खोजी कार्यमा खटिनेछ।