उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा रहेका हिमताल र बाढीको अनुगमन : आयो यस्तो निष्कर्ष

उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा रहेका हिमताल र बाढीको अनुगमन : आयो यस्तो निष्कर्ष


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ भाद्र २०८३
  • 855
    Shares

पोखरा , १४ भदौ २०८३।

उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिम पहिचान गर्न स्थलगत र ड्रोनमार्फत अनुगमन शुरु गरिएको छ। हालसम्म निरीक्षण गरिएका क्षेत्रमा तत्काल जोखिम निम्त्याउने कुनै संकेत नदेखिएको अधिकारीहरूले बताएका छन्।

भोटेकोशी नदीमा आएको बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्वतयारीलाई तीव्रता दिइएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान र आसपासका उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ।

एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार अनुगमनको पहिलो चरणमा नेपाल–चीन सीमामा रहेका १८ र १९ नम्बर सीमास्तम्भ आसपास कालीगण्डकी नदी प्रणालीका दुईवटा मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो।

निरीक्षणका क्रममा उच्च हिमाली क्षेत्रमा हिमपातको अवस्था तथा सम्भावित विपद् जोखिमको मूल्याङ्कन गरिएको थियो। उक्त क्षेत्रमा तत्काल जोखिमको कुनै संकेत नदेखिएको पौडेलले जानकारी दिए।

यसैगरी अनुगमनको दोस्रो चरणमा लोमान्थाङभन्दा माथिल्लो उच्च पर्वतीय क्षेत्रमा रहेको घ्याकरछु तालको निरीक्षण गरिएको छ। समुद्र सतहबाट करिब ५ हजार ५५० मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा ड्रोनमार्फत गरिएको निरीक्षणका क्रममा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल कुनै जोखिमको संकेत नदेखिएको पौडेलले बताए।

उच्च हिमाली क्षेत्रमा हिमतालको अवस्था, हिमनदीमा देखिएका परिवर्तन तथा सम्भावित बाढीको जोखिमबारे नियमित निगरानी आवश्यक रहेकाले अनुगमनलाई निरन्तरता दिइने बताइएको छ। सम्भावित जोखिम पहिचान गरी समयमै पूर्वतयारी र आवश्यक सुरक्षा व्यवस्था मिलाउने उद्देश्यले टोलीले उच्च हिमाली क्षेत्रको निरीक्षण गरिरहेको हो।

प्रतिक्रिया