काठमाडौं, १३ भदौ २०८३।
सरकारले भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि ठूलो हेलिकप्टर ल्याउन भारतलाई अनुमति नदिएको खबर छ।
सुरुङमा फँसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि भारतले ठूलो क्षमताको हेलिकप्टर ल्याउन माग गरेकोमा सरकारले अनुमति नदिएको हो ।, पहाडी भूगोलमा ठूलो हेलिकप्टर अवतरण तथा विदेशी पाइलटबाट उडान गराउँदा जोखिम हुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृति नदिएको समाचार स्रोतहरुले जानकारी दिएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजनामा कार्यरत करिब ९ सय जना सम्पर्कविहीन छन्। प्राधिकरणले ठूलो हेलिकप्टर ल्याएर भए पनि सुरुङलगायत जोखिमपूर्ण स्थानमा फसेकाको उद्धार छिटो गर्नुपर्नेमा जोड दिएको छ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतीय टोलीले रेकीपछि ८० जनाको दक्ष उद्धार टोली ल्याउने योजना बनाएको थियो। त्यसका लागि ठूलो हेलिकप्टर आवश्यक पर्ने भए पनि प्रभावित क्षेत्रमा अवतरण सम्भव नहुने निष्कर्षपछि सानो हेलिकप्टरबाटै खोज तथा उद्धारमा खटिने सहमति भएको छ।
यसैबीच, माथिल्लो त्रिशूली–३ ‘ए’ मा फँसेकाको उद्धारका लागि चिनियाँ विज्ञसहितको ६ सदस्यीय टोली प्रभावित क्षेत्रमा खटिएको छ। मौसम प्रतिकूल भएपछि शुक्रबार आउन नसकेको टोली शनिबार चिनियाँ हेलिकप्टरबाट त्रिशूली क्षेत्रमा पुगेको हो।