मुलुककै ठूलो महानगरपालिका पोखराको मेयरमा पार्टीको उम्मेद्वार सिफारिस गर्न एमालेभित्रै चुनाव हुने भएको छ। धेरै ा आकांक्षी देखिएकाले महानगर कमिटीसहितका पदाधिकारी तथा सदस्यबाट मतदान गरी उम्मेदवार सिफारिस गर्न लागिएको हो।
एमाले पोखरा महानगर कमिटीको बैठक शुक्रबार बस्दैछ। बैठकमा सकेसम्म सर्वसम्मतको प्रयास गरिने नसके मतदान प्रक्रियामै जाने एमाले प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङले अन्नपूर्णलाई बताउनुभयो। चुनावी प्रक्रियामा जाँदा चार सय ४० जनाले मतदान गर्नुहुने छ। पोखरा महानगरमा मेयर र उपमेयर छनोटमा सहजीकण गर्न जिल्ला निर्वाचन कमिटी अध्यक्ष टीकाराम पंगेनीले जिम्मा पाउनुभएको छ।
साविक पोखरा र लेखनाथ नगर कमिटी, महानगरमा गाभिएका साविक गाउँ कमिटी, क्षेत्रीय कमिटीका नगरभित्रका सदस्य, विशेष इलाका कमिटी, जिल्ला कमिटीका भूगोल हेर्नेसदस्य गर्दा त्यतिका मतदाता पुग्नेछन्। स्थानीय तह पुनसंरचनापछि निर्मित एमाले पोखरा महानगर कमिटीको संयोजक पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा नै हुनुहुन्छ।
चुनावी प्रक्रियामा आकांक्षीहरु उम्मेद्वार बन्नुहुने छ। तीमध्ये मतका आधारमा मेयरमा १ महिलासहित ३ जना चुनेर र उपमेयरमा पनि त्यस्तै ३ जना चुन्ने जानकारी गुरुङले दिनुभयो। महानगरबाट आएको सुझावका आधारमा प्रदेश कमिटीले उम्मेदवार सिफारिस गर्ने र पार्टीको स्थायी कमिटीले टिकट दिने निर्णय एमालेले पहिल्यै गरिसकेको थियो।
मेयर बन्न केन्द्रीय वैकल्पिक सदस्य मानबहादुर जिसी, जिल्ला कमिटी अध्यक्ष कृष्ण थापा, नेता श्रीनाथ बराल, उद्यमी नेता धनराज आचार्य, युवा संघ अध्यक्ष राजीव पहारीर गजकुमारी गुरुङकोचर्चामा छन्। मीना गुरुङ, प्रभा कोइराला, मञ्जु गुरुङ र देवका पहारी लगायत उपमेयरका लागि चर्चामा रहेका नाम हुन्। चुनावी प्रक्रियामा जाने भनिएपछि कतिपय आकांक्षीहरु पछि हटेका छन्।
प्रदेश संयोजक किरण गुरुङले ४ नम्बर प्रदेशभित्रका १ सय १२ स्थानीय तहका १ महानगर, २६ नगरका प्रमुख उपप्रमुखका उम्मेदवारको नाम केन्द्रमा सिफारिस गर्ने र नगरका वडाध्यक्षका उम्मेदवारलाई भने यहींबाट टिकट उपलब्ध गराउने जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिका प्रमुख र उपप्रमुखलाई प्रदेश कमिटीले टिकट दिनेछ। गाउँपालिकाका वडाध्यक्षहरुलाई भने जिल्ला कमिटीले टिकट दिनेछ। प्रदेश ४ मा एमालेले ३ हजार ९ सय ६५ जनालाई उम्मेदवार बनाउने पनि गुरुङले बताउनुभयो।
एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले महानगरका कतिपय वडाध्यक्षका उम्मेदवार सर्वसम्मत भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार कास्कीका गाउँपालिकामा वडाध्यक्षका उम्मेदवार पनि लगभग पक्कापक्की गरिसकिएको छ। उहाँले भन्नुभयो, ‘अधिकांश उम्मेदवार युवा हुनुहुन्छ।’ उम्मेदवार चयनमा सकेसम्म सर्वसम्मत गर्ने प्रयास भएको पनि थापाले बताउनुभयो।