संघीय गठबन्धनले सप्तरी घटनाको विरोध स्वरुप नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । मंगलबार संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकले नेपाल बन्दसहितका विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
मोर्चाको भर्खरै सकिएको बैठकले फागुन २६ गते ७५ जिल्लाकै सदुरमकाममा विरोध प्रदर्शन र सभा गर्ने, फागुन २७ गते नेपाल बन्द गर्नेलगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । त्यसैगरी मोर्चाले कुटनीतिक पदाधिकारीसँग सप्तरी घटनाको पूर्ण विवरण पेश गरेर छलफल गर्ने, संसदमा रहेका गठबन्धन अन्तर्गतका मधेसवादी दललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन सात दिने अल्टिमेटम दिनेलगायतका निर्णय गरेको छ।
एमालेका समर्थकलाई सप्तरीमा सामाजिक बहिस्कार
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेकपा एमालेका समर्थकलाई सप्तरीमा सामाजिक बहिस्कार गर्ने निर्णय गरेको छ। मोर्चाको मंगलबार बिहान बसेको बैठकले ६ बुँदे माग सार्दै जिल्लामा एमालेका समर्थकलाई बहिस्कार गर्ने निर्णय गरेको हो।
मोर्चाले सप्तरी गोलीकाण्डमा मृत्यु भएका तीनै जनालाई सहिद घोषणा, परिवारलाई राहत तथा पीडित परिवारका एक जनालाई सरकारी जागिरको व्यवस्था र घाइतेको नि:शुल्क उपचार सरकारले गरिदिनुपर्ने माग गरेको छ। यसका साथै सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ), नेपाल प्रहरीका एसपी, डिएसपी र सशस्त्र प्रहरीका एसपीलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेको छ।
