पोखरा, १३ साउन २०८३।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ करुवास्थित सुपरसेती जलविद्युत आयोजनाको सुरक्षार्थ निर्माण गरिएको नेपाली सेनाको ब्यारेक बाढी र पहिरोले पूर्ण रूपमा बगाएको छ।
गत साउन ६ र ७ गते परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण प्रिफ्याब तथा जस्ताले बनेको तीन कोठे ब्यारेक भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति नभए पनि ब्यारेकमा बसोबास गर्दै आएका १५ जना नेपाली सेनाका कर्मचारीका लत्ताकपडा तथा व्यक्तिगत बन्दोबस्तीका सामग्री माटोले पुरिएर नष्ट भएका छन्।
घटनाबारे साउन १२ गते दिउँसो प्रहरी चौकी सार्दीखोलामा जानकारी प्राप्त भएपछि प्रहरी सहायक हवल्दार टीकाराम गुरुङको कमाण्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। टोलीले स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरेको जनाएको छ।
प्रहरीका अनुसार बाढीले ब्यारेक क्षेत्रमा ठूलो परिमाणमा लेदो र ढुंगा थुपारेको छ, जसका कारण भवन प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ। ब्यारेकमा रहेका सैनिकहरूको दैनिक प्रयोगका सबै सामग्री पुरिएपछि उनीहरूको बसोबाससमेत प्रभावित भएको छ।
घटनापछि प्रहरीले आवश्यक मुचुल्का तयार गरी थप कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। सुरक्षा निकायका अनुसार समयमै सतर्कता अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको हो। वडा प्रहरी कार्यालय बगरका अनुसार घटनास्थलको निरीक्षणपछि क्षतिको यकिन विवरण संकलन गरी थप अनुसन्धानसमेत अघि बढाइएको छ।