अस्ट्रेलियाको सिड्नी अस्बरीस्थित वरिस्ट नागरिक सभा हलमा आइतबार साँझ उपस्थित दर्जनौं नेपाली आदिवासी जनजातिहरुले निधारमा कालो रुमाल बाँधेर केहि मिनेट चर्का नाराबाजी गरे । अष्ट्रेलियन भूमिमा गरिएको यो बिरोध अष्ट्रेलियाको कुनैपनि व्यक्ति, संस्था वा सरकार बिरुद्ध थिएन । यो त नेपाल सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेको विरोधमा थियो ।
सिड्नीमा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरुले नेपाल सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । हलका भित्ताहरुमा आयोजक संस्थाका ब्यानरहरु राखिएको थियो भने सिड्नीका लोकपि्रय नेपाली जनजाति नेता चित्र तुम्बाहाम्फेले चर्को स्वरमा नारा लगाएका थिए ।
तुम्बाहाम्फेलाई साथ दिँदै चौडा हलको निला कुर्सीहरुमा बसेका सबैजना एकैसाथ उठेर नारा घन्काउन थाले ।
नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका सल्लाहकार गणेश तामाङको आतिथ्यमा हालै बसेको एक बैठकले स्थानीय तहको चुनावको मिति घोषणाको विरोध गर्ने निर्णय गर्दै बिभिन्न नाराहरु तय गरेको थियो ।
नेपाली आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका अध्यक्ष अरुण तामाङले अनलाइनखबरलाई दिएको जानकारीअनुसार राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनुपर्ने, नेपालको व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्नुपर्ने, संघीयता कार्यान्वयनका लागि संघ र प्रदेशको निर्वाचन पहिला गराइनु पर्ने, प्रदेश मातहत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको संख्या र सीमा निर्धारण गरी बाँकी भूगोललाई जनसंख्याको आधारमा स्थानीय तह बनाइनु पर्ने, स्थानीय तह प्रदेश मातहत रहनु पर्ने र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नुपर्ने लगायत माग राख्दै विरोध प्रदर्शन गरिएको जानकारी दिए ।
यसैगरी, देशमा राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने, संघीय संसदको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा गर्नुपर्ने, राज्यका सबै अङ्गहरुमा दलीय भागवण्डाका आधारमा नियुक्तिको प्रचलनलाई खारेज गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, सुरक्षाका अंग, कुटनीतिक क्षेत्र जस्ता विषयहरूमा भागवण्डाको राजनीति अन्त्य गर्नुपर्ने लगाएतका साझा धारणाहरु पनि बैठकले निर्माण गरेको उनले जानकारी दिए ।
आइतबार सिड्नीमा आयोजित विरोध कार्यक्रममा स्थानीय चुनाव चाहिँदैन, संघीयता खान पाइँदैन, संघीय, प्रान्तिय चुनाव पहिला गर, स्थानीय चुनाव प्रान्तले गर, अपुरो संविधान परिमार्जन गर जस्ता नाराहरु लगाइएको थियो । कार्यक्रममा महिला र मधेसी समुदायको पनि उल्यख्य सहभागिता थियो ।