पोखरा , १७ असोज २०८३।
चर्को स्वरमा बजारै हल्लाउंदै हिड्ने ११ वटा मोटरसाइकलहरुलाई प्रहरीले कारबाहीका लागि आफ्नो नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट सञ्चालन भइरहेको ‘Operation 365’ अभियानअन्तर्गत पोखराका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा गएको राती गरिएको चेकजाँचका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्राप्त जानकारी अनुसार , इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले तालचोक क्षेत्रबाट ७ वटा, वडा प्रहरी कार्यालय रामबजारको टोलीले अम्मरसिंहचोक क्षेत्रबाट दुई वटा तथा वडा प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय बैदाम पोखराको टोलीले एक – एक मोटरसाइकल नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ‘Operation 365’ अन्तर्गत हालसम्म आठ सय ८२ वटा सवारीसाधन र ३६ जना मानिस नियन्त्रणमा लिई कारबाही गरिएको छ।
प्रहरीले स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने तथा ध्वनि प्रदूषण गर्ने सवारीसाधनमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।