काठमाडौँ, १४ असोज २०८३।
जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा पक्राउ परेकी नेपाली युवती सन्जु तामाङविरुद्ध हत्या अभियोगमा मुद्दा दायर भएको छ भने उनीसंगै पक्राउ परेका अन्य दुई नेपालीलाई भने तत्काल अभियोग नलगाई रिहा गरिएको छ।
फुकुओका जिल्ला सरकारी वकिलको कार्यालयले सेप्टेम्बर २९ मा २८ वर्षीया सन्जु तामाङविरुद्ध हत्या अभियोगमा मुद्दा चलाउने निर्णय गरेको हो। सन्जु फुकुओकाको हाकाता क्षेत्रमा व्यावसायिक कलेजमा अध्ययनरत रहेको बताइएको छ।

लक्ष्मी राजवंशी
गत अगस्ट १९ मा फुकुओकामा झापाको चन्द्रगढीकी २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशी नदीमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरी अनुसन्धानका अनुसार उनको टाउकोमा प्रहार गरी घाँटीमा डोरीले कसेपछि बाल्कोनीबाट नदीमा खसालिएको आशंका गरिएको थियो।
यस घटनामा जापान प्रहरीले सेप्टेम्बर ८ मा सन्जु तामाङसहित २५ वर्षीया अमिस्ता तामाङ र २२ वर्षीय प्रविन लामालाई पक्राउ गरेको थियो। पक्राउ परेका तीनै जनामाथि शुरुमा हत्या घटनामा संलग्न भएको आशंकामा अनुसन्धान अघि बढाइएको थियो।
तर सरकारी वकिलको पछिल्लो निर्णयमा सन्जुविरुद्ध मात्र हत्या अभियोग दायर गरिएको छ। अमिस्ता तामाङ र प्रविन लामालाई तत्काल अभियोग नलगाई रिहा गरिएको हो। उनीहरूविरुद्धको अनुसन्धान पूर्ण रूपमा समाप्त भएको हो वा होइन भन्ने विषय भने थप अनुसन्धान र कानुनी प्रक्रियाबाट स्पष्ट हुने बताइएको छ।
अनुसन्धानका क्रममा लक्ष्मी र प्रविन लामाबीच प्रेम सम्बन्ध रहेको र सन्जु तथा प्रविन एउटै घरमा बस्दै आएको तथ्य खुलेको जापानी सञ्चारमाध्यममा उल्लेख छ। प्रहरीले प्रेम सम्बन्धसँग जोडिएको विवाद घटनाको पृष्ठभूमि हुनसक्ने आशंकामा अनुसन्धान गरेको थियो।
यसअघि सन्जुले आफूले हत्या नगरेको भन्दै आरोप अस्वीकार गरेको विवरण सार्वजनिक भएको छ। त्यसैले मुद्दा अदालतमा प्रवेश गरेसँगै घटनाको वास्तविक क्रम र जिम्मेवारी अदालतमा प्रस्तुत हुने प्रमाण तथा अन्य अनुसन्धान विवरणका आधारमा टुंगो लाग्नेछ।
लक्ष्मीको शव सेप्टेम्बर ११ मा जापानबाट नेपाल ल्याइएको थियो। परिवार तथा आफन्तले शव बुझेर झापा लगेर अन्त्येष्टि गरेका थिए।