पोखरा, भदौ २३ २०८३ ।
जापानको फुकुओका शहरमा नेपाली विद्यार्थी २५ वर्षीया लक्ष्मी राजवंशीको हत्या गरेको आरोपमा प्रहरीले तीन जना नेपालीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा रहेका छन्।
प्रहरीका अनुसार, उनीहरु समेतले गएको भदौ २ गते राति फुकुओकास्थित आफ्नै कोठामा रहेकी राजवंशीमाथि कुकरले टाउकोमा प्रहार गरिएको र त्यसपछि डोरीले घाँटी थिचिएको आशङ्का गरिएको छ। त्यसपछि उनलाई बार्दलीबाट नदीमा खसालेर डुबाएर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
राजवंशीको शवमा गम्भीर चोटपटक देखिएपछि प्रहरीले घटनालाई शङ्कास्पद मान्दै हत्याको कोणबाट अनुसन्धान अघि बढाएको थियो। घटनाको अनुसन्धानका लागि विशेष टोलीसमेत गठन गरिएको थियो। प्रारम्भिक परीक्षणबाट उनको मृत्यु डुबेर भएको खुलेको जापानी प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा पक्राउ परेकाहरूको भूमिकाका साथै हत्या गर्नुको कारण र उद्देश्यबारे थप अनुसन्धान गरिरहेको छ। यद्यपि पक्राउ परेका तीनै जनाले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् वा छैनन् भन्नेबारे प्राप्त समाचारमा स्पष्ट उल्लेख गरिएको छैन।