पर्वतीय दौडलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राविधिक रूपमा मजबुत बनाउन आग्रह

पर्वतीय दौडलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्राविधिक रूपमा मजबुत बनाउन आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असोज २०८३
  • 323
    Shares

पोखरा, १६ असोज २०८३।

पोखरामा आयोजना हुने तेस्रो संस्करणको पुम्दी भुम्दी खुला पर्वतीय दौड प्रतियोगितालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार थप व्यवस्थित र प्राविधिक रूपमा मजबुत बनाउन खेल संघसंस्थाका प्रतिनिधिले सुझाव दिएका छन् ।

शुक्रबार पोखरामा आयोजित सरोकारवालासँगको छलफलमा सहभागीहरूले प्रतियोगिताको प्राविधिक पक्ष, सुरक्षा र व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । उनीहरूले प्रतियोगिता सफल बनाउन आवश्यक प्राविधिक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजनामा असोज २४ गते शनिबार प्रतियोगिता हुँदैछ । पोखराको पर्यटनसँगै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई अघिल्ला संस्करणभन्दा थप व्यवस्थित, सुरक्षित र प्राविधिक रूपमा सक्षम बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगितालाई हरेक संस्करणसँगै थप परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले व्यवस्थापन र प्राविधिक पक्षमा कमजोरी हुन नदिन आयोजकलाई आग्रह गर्दै प्रतियोगितालाई पोखराको नयाँ खेल ब्रान्डका रूपमा स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले प्रतियोगितालाई सबैले अपनत्व लिएर सफल बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो । रेस डाइरेक्टर ओम गुरुङले अघिल्लो संस्करणको तुलनामा यस वर्ष प्रतियोगितालाई थप प्राविधिक रूपमा मजबुत बनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

कास्की जिल्ला एथलेटिक्स संघका सचिव सिद्धार्थ अधिकारीले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरमा लैजान प्राविधिक पक्षलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो । आवश्यक सहयोग र प्राविधिक सहजीकरणका लागि संघ तयार रहेको उहाँको भनाइ छ ।

प्रतियोगिता संयोजक दिननाथ बरालले खेल पर्यटनसँगै स्थानीय गाउँठाउँ, कृषि तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिन लागिएको बताउनुभयो । पोखरा प्रवद्र्धन केन्द्रका उपाध्यक्ष असफल गौतमले प्रतियोगितालाई थप व्यवस्थित बनाउन विभिन्न निकाय र सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गर्दै सुझाव संकलन गरिएको बताउनुभयो ।

प्रतियोगिता नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका–२२ को सहकार्यमा सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न खेल संघसंस्था, सरकारी निकाय, व्यवसायी तथा निजी क्षेत्रको सहयोग रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको मेडिकल पार्टनर नेलम्बो नेपाल, हस्पिटल पार्टनर मेडिप्लस एन्ड ट्रमा सेन्टर, इन्स्योरेन्स पार्टनर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनर म्याजेस्टिक लेक फ्रन्ट होटल एन्ड सुइट्स र अफिसियल टेलिभिजन पोखरा टेलिभिजन रहेका छन् । आधिकारिक खानेपानीका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय म्याराथन धावक ले.रि. कुसाङकुमार गुरुङले प्रायोजन गर्नुभएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया