मनाङ, १२ असोज २०८३ ।
मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ। यससँगै घटनामा फेला परेका शवको संख्या चार पुगेको छ भने आठ जना अझै सम्पर्कविहीन छन्।
विभिन्न ट्रेकिङ एजेन्सीमार्फत गत भदौ ३० गते हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपालीमध्ये १० जना असोज ११ गते साँझ सकुशल फु–गाउँ फर्किएका थिए। त्यसपछि बेस क्याम्पमा रहेका १२ जना सम्पर्कविहीन भएका थिए।
सम्पर्कविहीनमध्ये यसअघि संखुवासभाको भोटखोला गाउँपालिका–३ का ५२ वर्षीय छेबि भोटे र भोटखोला–२ का ३१ वर्षीय पासाङ भोटेको शव फेला परेको थियो। उनीहरूको शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।
यसैबीच सोमबार बिहान करिब ११ बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङ ल्याइएको छ। प्रारम्भिक विवरणमा ती शवको पहिचान खुल्न नसकेको जनाइए पनि पछिल्लो विवरणअनुसार उनीहरू वीरेन्द्र गुरुङ र घनश्याम राई रहेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले जनाएको छ।
हिमपहिरोपछि खोज तथा उद्धारका लागि सुरक्षाकर्मी र सम्बन्धित टोली परिचालन गरिएको छ। हिम्लुङ क्षेत्रमा भौगोलिक विकटता र मौसमको अवस्थाका कारण उद्धार कार्य चुनौतीपूर्ण रहेको जनाइएको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले समेत खोजी कार्य जारी राखेको छ।
हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फ पर्ने दुर्गम क्षेत्रमा रहेको छ। बाँकी आठ जना सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नोट: पछिल्लो विवरणअनुसार फेला परेका चारै शवको पहिचान खुलेको छ। प्रारम्भिक समाचारमा नयाँ फेला परेका दुई शवको पहिचान नखुलेको उल्लेख भए पनि त्यसपछि उनीहरूको नामसमेत सार्वजनिक भएको हो।