हुम्लामा हिउँमा परेर मुगुका युवकको मृत्यु, नौ जना सम्पर्कविहीन

हुम्लामा हिउँमा परेर मुगुका युवकको मृत्यु, नौ जना सम्पर्कविहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ असोज २०८३
  • 551
    Shares

हुम्ला, १२ असोज २०८३।

हुम्लाको चंखेली गाउँपालिका–२ स्थित बागेढुंगा सामुदायिक वनमा कटुको जडिबुटी संकलन गर्न पुगेका मुगुका एक युवकको हिउँमा परेर मृत्यु भएको छ भने नौ जना अझै सम्पर्कविहीन छन्। मृत्यु हुनेमा मुगुको मुगुम कार्मारोङ गाउँपालिका–९ पापुका २२ वर्षीय गणेश बुढा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भदौ २८ गते मुगुम कार्मारोङ गाउँपालिका–९ पापु र छाइलबाट १३ जनाको टोली कटुको जडिबुटी संकलनका लागि हुम्ला पुगेको थियो। बागेढुंगा सामुदायिक वन उपभोक्ता समितिले जडिबुटी संकलन गर्न अनुमति नदिएपछि उनीहरू फर्किने क्रममा उच्च हिमाली क्षेत्रमा परेको भारी हिउँका कारण बुढाको मृत्यु भएको जनाइएको छ।

उक्त क्षेत्रमा घुँडासम्म हिउँ जमेको र प्रतिकूल मौसमका कारण हिँड्न कठिन अवस्था रहेको बताइएको छ।

सम्पर्कविहीन हुनेमा पापुका बलबहादुर बुढा, प्रकाश बुढा, ललितजंग बढुवाल, जयबहादुर बढुवाल र अ‍ेखबहादुर रोकाय तथा छाइलका जयबहादुर रोकाय, वीरबहादुर ऐडी, प्रेम रोकाय र पवन रोकाय रहेका छन्। टोलीमा रहेका अन्य तीन जना भने सम्पर्कमा आएका छन्।

जडिबुटी संकलनका क्रममा विवाद भएको स्थानीयको भनाइ

स्थानीयका अनुसार हुम्ला–मुगु सीमाक्षेत्रमा जडिबुटी संकलन गर्ने विषयलाई लिएर दुई समूहबीच विवाद तथा झडपसमेत भएको थियो। झडपपछि उनीहरूलाई त्यहाँबाट लखेटिएको स्थानीयको आरोप छ। यद्यपि, घटनाको यो पक्षबारे प्रहरीले थप अनुसन्धान तथा विवरण संकलन गरिरहेको छ।

घटनापछि हुम्ला र मुगु दुवै जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ। सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले प्रयास गरिरहेको जनाएको छ।

तर उच्च हिमाली क्षेत्रमा निरन्तर भारी हिमपात भइरहेकाले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। प्रतिकूल मौसमका कारण घटनास्थलसम्म पुग्न तथा सम्भावित स्थानमा खोजी गर्न चुनौती देखिएको छ।

सम्पर्कविहीन नौ जनाको अवस्था अझै स्पष्ट हुन नसकेको अवस्थामा प्रहरीले खोजी अभियानलाई निरन्तरता दिएको छ। घटनाको थप विवरण उद्धार तथा खोजी टोली घटनास्थलमा पुगेपछि मात्र स्पष्ट हुने जनाइएको छ।

प्रतिक्रिया