बागलुङ, १२ असोज २०८३।
अविरल वर्षापछि बागलुङका विभिन्न स्थानमा गएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । पछिल्लो दुई दिनमा जिल्लामा पहिरोका कारण ठूलो मानवीय क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार मात्रै तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा नौ जनाको मृत्यु भएको छ । एक जना अझै बेपत्ता छन् । यसअघि शनिबार ताराखोला गाउँपालिकामा पहिरोमा परी एक जनाको मृत्यु भएको थियो ।
तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घरसमेत बगाएको छ ।
त्यस्तै, तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । घटनामा हस्तवीरकी श्रीमती बेपत्ता भएकी छन् ।
निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उहाँका १३ वर्षीय छोरा मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक छन् ।
निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचना र सतर्कताका कारण थप मानवीय क्षति हुनबाट जोगिएको हो । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली परिचालन गरिएको छ ।