म्याग्दी, १७ असोज २०८३ ।
बाढीपहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा पैदलयात्रा सहज बनाउन युवाहरूले श्रमदान अभियान सञ्चालन गरेका छन् ।
बेनीका प्रकाश पौडेलको नेतृत्वमा १५ जना युवाको टोलीले शुक्रबार रघुगंगा गाउँपालिकाको राहुपारे र कुनौटा क्षेत्रमा पैदलयात्राका लागि जोखिमपूर्ण तथा अप्ठ्यारा स्थानमा झ¥याङ राख्ने, डोरी टाँग्ने र बाटोमा रहेका रुख तथा अवरोध हटाउने काम गरेको हो ।
सडक मर्मत भएर नियमित यातायात सञ्चालनमा नआएसम्म यात्रुहरूलाई पैदल हिँडेर गन्तव्य पुग्नुपर्ने बाध्यता रहेकाले अभियान सञ्चालन गरिएको टोलीका संयोजक पौडेलले बताउनुभयो । सामाजिक सञ्जालमार्फत आह्वान गरी स्वयंसेवक परिचालन गरेर सडकमा आवतजावत गर्ने यात्रुलाई सहज र सुरक्षित वातावरण बनाउने प्रयास गरिएको उहाँको भनाइ छ ।
गत साताको वर्षापछि आएको बाढीपहिरोका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पैदलयात्रासमेत कठिन बनेको छ । एक साताअघिसम्म दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने बेनीदेखि काभ्रेभीर खण्डको करिब ३३ किलोमिटर सडक बाढी, पहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त भएको छ ।
कतिपय स्थानमा सडक पूर्णरूपमा भत्किनुका साथै केही ठाउँमा सडकको नामोनिशानसमेत नरहने गरी बगेको छ । सडक सञ्चालनमा नआएसम्म मुस्ताङमा रहेका पर्यटक, तीर्थयात्री, व्यवसायी तथा स्थानीयवासीका लागि अत्यावश्यक काममा आवतजावत गर्न पैदलयात्रा नै प्रमुख विकल्प बनेको छ । तर, क्षतिग्रस्त सडकमा पैदल हिँड्नसमेत जोखिमपूर्ण रहेको छ ।
बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार पछिल्लो पटक अवरुद्ध भएका ४६ स्थानमध्ये ४१ स्थानमा मर्मत सम्पन्न भइसकेको छ ।
आयोजना प्रमुख तेजस्वी शर्माले म्याग्दीको तिल्केनीचौर, खामभित्ता र भुरुङ्ग तातोपानी क्षेत्रमा मर्मत कार्य जारी रहेको जानकारी दिनुभयो । इन्धन तथा आवश्यक उपकरणको व्यवस्थापन गरी थप स्थानमा उपकरण र मजदुर परिचालन गरेर कोरला नाकासँग जोडिएको सडकलाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको उहाँले बताउनुभयो ।