लघुकथा – “किनेको शिक्षाको नतिजा”

लघुकथा – “किनेको शिक्षाको नतिजा”


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ११ फाल्गुन २०७३
  • 16.1K
    Shares

गोमा सिटौला

स्कूलमा नतिजा प्रकाशित र अभिभावक मिटिङ्ग छ । थुप्रै अभिभावक जम्मा भएका छन् । कोही आफ्ना छोरा-छोरीलाई स्याबास भन्दै म्वाई खाइरहेका छन् भने, कोही राता-राता मुख बनाउँदै तपाईंहरुले के पढाएको ? भनेर साना क्लासका म्यामहरुलाई हप्काइरहेको देखिन्छ । “पैसा तिर्ने बेलामा तपाईंहरुको बच्चाहरूलाई खुवाएर ,सुघाएर देखाएर सुनाएर पढाउछौ” भन्नू हुन्थ्यो त्यति मात्रै हो र कपि किताब पनि स्कुलको लोगो भएको किन्न पर्ने । लौ परिक्षामा चै फेल भयो । अलिक अधबैसे जस्तो देखिने एक्लै बकबक गरिरहन्छन् । उसैको कुरामा अर्काले थपे खुवाएर देखाएर पढाएको भए हिजो छोरालाई धनियाँको साग बारी बाट लेराउ भनेको चम्सुरको साग उखेलेर लेरायो।

पहिलो पाठशाला त घर हो । हजुरहरुले पनि कोशिश गर्न पर्यो । हाम्रो कोशिश त जारी नै छ।शिक्षिकाले नम्र हुँदै भनिन् । कमजोर भयो स्कुलमा ट्युसन राख्न पर्यो भन्नुभयो। बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म तपाईंहरुसँगै हुन्छ। घरमा होमवर्क गर्दा गर्दै रात पर्छ । खान सुत्न पनि दिन पर्यो। कता के समय पाउनु र सिकाउनु ? भिडकोबीचबाट नियमको आमाले आक्रोश पोखिन्।

शिक्षिकाले हामी अरुलाई भन्दा यो बाबुलाइ हेरचाह गर्छु भनेर फकाएर पठाइन् । अर्को क्लासमा एसएलसीको बारेमा शिक्षक र अभिभाबकबीच मिटिङ्ग थियो। प्रधानध्यापकले सबै अभिभावकहरुलाइ नानीहरुलाई परिक्षा नसकिन्जेल शिक्षकहरुको निरीक्षणमा राख्नुपर्ने र सबै नानीहरुको डिस्टिन्सन या फर्स्ट डिभिजन ग्यारेन्टी आउने विश्वास दिलाएर पठाए । एसएलसीको माहोलले साच्चै प्रिन्सिपललाई असार मासे जस्तो भ्याई नभ्याई थियो। मिटिङ्गमा शिक्षकहरुलाई जसको बिषयमा उत्कृष्ट नम्बर लेराउछ्न् उसलाइ विशेष पुरस्कारको ब्यबस्था छ सुनाएर जुर्मुराएर पढाउन उस्काए। कुनै कुनै शिक्षकले कुनै कुनै बिद्यार्थी अत्यन्तै कमजोर भएकोले बरु दस क्लास फेरि दोहर्‍याउन लगाउने सल्लाह सुझाव दिए तर हेड्सर कड्किए।

अभिभावकले पैसाको सागरै खन्याइरहेका छन्।घोकाएर हुन्छ या के गरेर हुन्छ शत प्रतिशत डिस्टिन्सन या फर्स्ट डिभिजनमा पास नगराई हुन्न ।स्कूलको इज्जतको कुरा छ। भोलि यहि कुरा बिज्ञापन गरेर जति सक्दो विद्यार्थी तान्नु पनि छ।पोहर पनि निकै कमजोर विद्यार्थी थिए । सबैले डिस्टिन्सन लेराए । तपाईंहरु आफ्नो तर्फ बाट राम्रो पढाउनु होस। पासै हुन गार्हो हुने बिद्यार्थीको नाम मेहनती बिद्यार्थीको नाम टिपेर भोलि दिनुहोस।अहिले कक्षा कोठातिर लाग्नुस। म पोहरको सुत्र प्रयोग गर्ने कोसिस गर्छु भन्दै प्रिन्सिपल रुम भित्र पसे।
मोबाईल झिकेर फोन लगाए

हेल्लो “सर म राम नाथ” ?
सर के छ खबर…
सर पोहर सालको जस्तो दुख दिउ भनेको…..
यसपाली पनि मेरो बिद्यार्थीहरुलाइ एउटै कोठामा राखिदिन पर्‍यो।

तर सारै टाइट छ अहिले त मेरो हातमा पनि छैन।सधैं यसो गर्दा शिक्षण पेसामा दाग लाग्छ। जेहन्दार बिद्यार्थीहरु पछि पर्छन्। माफ गर्नु होला सर ।
पोहरको भन्दा दुई गुणाले सरको दुख हेरौला।हजुरको र हाम्रो सम्बन्ध नङ्ग र मासुको जस्तो हुनु पर्छ। प्रिन्सिपलले भने, पक्का है सर दुख हेर्ने कुरा चै।अहिलेपनि मेरै हातमा हो ढुक्क हुनुहोस। बरु विद्यार्थी को कोसँग राख्ने हो सिम्बल नम्बर पठाउनु होस। सघाउने खालको निरीक्षकको ब्यबस्था राम्रै गरुँला। सम्वाद सकिन्छ ।

प्रतिक्रिया