काठमाडौं ४ कात्तिक २०८२ ।
भारतीय चलचित्रका अभिनेता गोबर्धन अश्रानीको निधन भएको छ। अभिनेता अश्रानीको ८४ वर्षको उमेरमा सोमबार मुम्बईमा निधन भएको हो ।
भारतको राजस्थानस्थित जयपुरमा जन्मिएका अभिनेता अश्रानी ‘शोले’ फिल्मको चर्चित डायलग ‘हम अंग्रेजो के जमाने के जेलर है’बाट ख्याति कमाउँदै अगाडि बढेका थिए।
अभिनेता असरानी बलिउडका पहिलो हास्य कलाकार थिए । दर्जनौं फिल्ममा उनको उपस्थिति चटनीजस्तो हुन्थ्यो । कमेडियन भए पनि उनले फिल्म निर्देशनमा समेत हात हालेका थिए ।
चला मुरारी हिरो बनने (१९७७), सलाम मेमसाहेब (१९७८), हम नही सुध्रेंगे (१९८०), दिल हि तो है (१९९२) र उडान (१९९७) उनीद्वारा निर्देशित फिल्म थिए ।
पूना फिल्म इन्स्टिच्युटबाट अभिनय पढेका उनले सन् १९६७ को फिल्म ‘हरे कांच की चुडियां’बाट ब्रेक पाएका थिए । राजेश खन्नासँग उनको राम्रो दोस्ती थियो । खन्नाले निर्माताहरुलाई आफ्नो फिल्ममा असरानीलाई पनि कास्ट गर्नुपर्ने शर्त नै राख्थे ।