काठमाडौं, १६ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले आइतबार काठमाडौंमा प्रचण्ड नेतृत्वको सरकारबिरुद्ध प्रदर्शन गर्दै छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय हवाई सुरक्षा बल (एयरमार्सल) लाई बस्ने स्वीकृती दिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रघात गरेको आरोप लगाउदै आएको नेकपा (माओवादी) ले विरोध प्रदर्शन गर्न लागेको हो ।
दिउसो ३ बजे शान्तिवाटिका सुरु हुने बिरोध र्याली रत्नपार्क, शहीदगेट, सुन्धारा, जमल हुदै पुनः शान्तिवाटिकामै आएर कोणसभामा परिणत हुने युवा जनस्वयमसेवकका अध्यक्ष झक बाहदुर मल्ल ‘ सुदिप’ ले बताए । उक्त कार्यक्रमलाई पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने उनले जानकारी दिए ।
यसअघि गत मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुस ५ गते नेपाल र भारतका पर्यटन तथा नागरिक उड्यन अधिकारीबीच हवाई ट्राफिक तथा नयाँ रुटबारेको दुई दिने बैठकले विमानस्थलमा एयरमार्सल बस्ने निर्णय गर्दा सरकार चुपचाप बसेको भन्दै बिरोध गरेका थिए ।