भारतको कोलकातास्थित इडन गार्डेन स्टेडियममा क्यारेबियन टोलीले दोस्रो पटक उपाधि जित्ने क्रममा बलियो प्रतिद्व्न्द्वी इङ्ल्यान्डलाई ४ विकेटले पराजित गर्यो ।
वेस्टइन्डिजलाई जिताउने क्रममा मार्लोन स्यामुल्स नायक सावित भए । उनले वेस्टइन्डिजले लगालगत शुरुवाती विकेट गुमाएको अवस्थमा तेस्रो क्रममा आएर ६६ बलमा नटआउट ८५ रन बनाए । उनले त्यसक्रममा ९ चौका र २ छक्का हाने । इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै दिएको १५६ रनको लक्ष्य वेस्टइन्डिजले ४ विकेटको क्षतिमा २ बल बाँकी छँदै भेट्टाएको हो ।
यसअघि इङल्यान्डले टस हारेर पहिले ब्याटिङ गर्दै पुरै ओभर खेलेर ९ विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।
इङ्ल्यान्डका दुबै ओपनरहरु जोसन रोय १ र एलेक्स हल्स शून्यमै पेभेलियन फर्केपछि वेस्टइन्डिजले प्रभाव जमायो । तर, तेस्रो क्रममा आएका जोय रुटले इङ्ल्यान्डको उद्धार गरे । उनले ३६ बलमा ५४ रन बनाएपछि इङ्ल्यान्ड धरासायी हुनबाट जोगियो ।
उनी आउट भएपछि आएका इयान मोर्गन केबल ५ रनमा आउट हुँदा त्यसपछिका जोस बट्लरले २२ बलमा ३६ रन बनाए । त्यसपछि आएका बेन स्ट्रोक्स १३ रनमै पेभेलियन फर्के ।
मोइन अली शून्य रनमा आउट हुँदा इङ्ल्यान्ड धर्मरायो । त्यसैगरि क्रिस जोर्डनले १३ बलमा १२ रन बनाए । त्यसैगरी डेभिड विल्लेको नाममा २१ रन रह्यो ।
अन्तिमक्रममा तीन ब्याट्सम्यान दोहोरो स्कोर गर्न चुके । वेस्टइन्डिजका लागि ड्यारेन ब्राभोर र कार्लोस ब्राथवाएटले ३-३ विकेट लिए । स्यामुअल बद्रीको नाममा दुई विकेट रह्यो ।
प्रतियोगितामा पहिलो पटक दुबै टीम सुपर-१० को समूह-१ बाट १६ मार्चमा आमनेसामाने भएका थिए । जहाँ इङल्यान्डले दिएको १८२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज क्रिस गेलले नटआउट रहँदै शतक जोडेपछि छ विकेटले विजयी भएको थियो ।
यस खेलपछि उपाधि जित्ने आफ्नो लक्ष्यबाट करिब बाहिर भएको इङ्ल्यान्डले जो रूटको विस्फोटक ब्याटिङमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
आफ्नो उत्कृष्ट खेलबाट टी-२० विश्वकपमा आएको अफगानिस्तानी टीमले इङ्ल्यान्डलाई कडा टक्कर दियो । तर उसले जित्न भने सकेन । त्यसपछि इङ्ल्यान्डले श्रीलंकालाई हरायो ।
अर्कोतर्फ वेस्टइन्डिजको टीमले श्रीलंकालाई सात विकेट र दक्षिण अफ्रिकालाई तीन विकेटले हरायो । तर समूह चरणको अन्तिम खेलमा अफगानिस्तानको हातबाट पराजित भयो ।
अफगानिस्तानसँग हारेको वेस्टइन्डिज ३० मार्चमा मुम्बईको वानखेडे स्टेडियममा भारतसँग भएको सेमिफाइनल भिडन्तमा जित निकाल्दै फाइनलमा आयो ।
ईडन गार्डेन स्टेडियमको अवस्थादेखि वेस्टइन्डिजको स्पिन बलिङबाट सबै परिचित थिए । वेस्टइन्डिजले भारतविरुद्ध प्रयोग गरेको यही स्पिन बलिङलाई हतियार बनायो ।