अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल सम्पर्क कार्यालय बर्दिबास महोत्तरीले मालपोत कार्यालयका सुब्बालाई घुस लिँदालिँदै पक्राउ गरेको छ।कार्यालयका सुब्बा राधेसरण ठाकुरलाई आइतबार दिउँसो ५ हजार घुस सहित पक्राउ गरेको हो।
पाँच जना दाजुभाइको अंशबाँडफाँडको काम गर्न एक सेवाग्राहीसँग ठाकुरले एक सातादेखि घुस माग्दै आएका थिए। घुस नदिएपछि अंशबाँडफाँडको कागजात अघि नबढाएपछि पीडित सेवाग्राहीले अख्तियारमा उजुरी गरेका थिए।
काम गर्ने कोठाको चुकुल लगाएर सेवा ग्राहीसँग घुस लिएर गोजीमा राख्नै लाग्दा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको अख्तितयारका मध्यमाञ्चल सम्पर्क कार्यालय बर्दिबासका एसपी राजकुमार लम्सालले बताए।
एसपी लम्सालले भने, ‘ठाकुरले सेवा ग्राहीसँग पाँच हजार घुस र सरकारी सेवा दस्तुर ६ हजार मागेका थिए, तर सेवाग्राहीले १ हजार घुस नदिएपछि घाटा हुन्छ भन्दै सेवाग्राहीको काम माघ ३ गते देखि रोकेका थिए।’
महोत्तरीको धिरापुर-३ घर भएका ठाकुर ३० बर्षदेखि सरकारी सेवामा रहदैं आएका छन्। पक्राउ परेका ठाकुरलाई अीखयारले नियन्त्रणमा लिएर अनुसंधान थालेको छ।