काठमाडौं, १ माघ ।
चलचित्र ‘छक्का पञ्जा’ लिक गरेको आरोप लागेका कृष्ण सुवेदीले सुसाईट नोट लेख्दै आत्महत्या गरेपछि यो प्रकरण अहिले एकाएक चर्चाको विषय बन्न पुगेको छ।
कतिपय संचारमाध्यमहरुले सुवेदी आत्महत्याको मूल कारण कलाकार दीपकराज गिरी नै हुन् भन्ने कुरालाई उठाउन खाेजे पनि त्याे कुरा अहिलेसम्म प्रमाणित भने हुन सकेको छैन ।
सामाजिक सञ्जालमा विभिन्न टीकाटिप्पणी आएपछि फिल्मका निर्माता एवं कलाकार गिरीले यस घटनाबारे अाफ्नाे भनार्इ प्रष्ट पारेका छन् । ‘सत्यतथ्य नबुझिकन धम्कि दिइएको भन्ने शब्दलाइ केहिले हाइलाइट गर्दै छन्, त्यो बिषयमा मेरो ध्यान आकर्षण छ । गिरीले भने ‘धम्कि दियो भन्ने कुरा कसरी आयो ? मैले यस्तो कार्य गर्न सक्दिन ।’
खाएको बिष मात्रै लाग्नु पर्ने गुनासो गर्दै उनले भनेका छन, -‘एकातिर मृतकको परिवारको पीडा सम्झेर दुखित छु, अर्कोतिर यस्ता संवेदनाहिन आरोपले मर्माहित तुल्याएको छ ।’ चलचित्र ‘छक्का पन्जा’ कै प्रमोसनका क्रममा गिरी अहिले युरोप भ्रमणमा छन् ।
घटनाबारे यस्तो भन्छ प्रहरी
सुवेदी आत्महत्या घटनाबारे गौशाला प्रहरीले अझै अनुसन्धान गरिरहेको बताएको छ । महानगरीय प्रहरी वृत गौशालाका डिएसपी नवराज कार्कीका अनुसार कृष्ण सुवेदीले आत्महत्या नै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
डिएसपी कार्कीले भने – पोष्टमार्टमपछि मृतकका आफन्तले शव बुझेर लगिसक्नु भएको छ । पोष्टमार्टम रिपोर्ट आउन अझै केहि समय लाग्छ र रिपोर्टकै आधारमा मृतकको आत्महत्या या अरु कुन कारणले मृत्यु भयो भन्ने कुरा पुष्टि हुन्छ ।’
सुसाइड नोटबारे भने सबन्धित व्यक्ति नै जीवित नभएपछि कसैको टर्चरले नै आत्महत्या गर्न पुगेको हो वा होइन भन्ने कुरा अनुमानकै आधारमा भन्न नसकिने डिएसपी कार्कीले बताए ।
यस्तो थियो सुसाइट नोटमा !
प्रहरीका अनुसार आत्महत्या गर्नुअघि कृष्णले एक सुसाइट नोट लेखेका थिए । जसमा लेखिएको थियो ‘यो मृत्यु होइन हत्या हो, एक हप्ता जति अघिबाट ज्यान मार्ने धम्की आइरहेको थियो । आमा बाबा, दाइ, दिदी मलाई माफ गर्दिनु । बैंकको खातामा मेरो जम्मा गरेको एक लाख रुपैयाँ आमालाई दिनु होला । यस्तै हुन्छ कि भनेर यो नोट पहिल्यै लेखेको थिएँ । उनले सुसाईट नोटमा आफ्नो बैंक एकाउन्टको कोड नम्बर पनि उल्लेख गरेका छन् ।
सिनामंगलस्थित नोबेल कलेजबाट ब्याचलर इन पब्लिक हेल्थ गरेका सुवेदीले धुलिखेल अस्पतालमा जागिरका लागि नियुक्ति लिएर बसेका थिए ।
सुसाइड नोटमा उल्लेखित ‘एक हप्ता अघिबाट ज्यान मार्ने धम्की आइरहेको थियो’ भन्ने कुराले ज्यान मार्ने धम्की आएको प्रष्ट भएपनि धम्की कसले र किन दियो भन्ने कुरा उल्लेख गरिएको छैन । कृष्णले पुस २८ गते चावहिलस्थित अाफ्नै काेठमा झुण्डिएर अात्महत्या गरेका थिए ।
कसरी लिक भएको थियो फिल्म ?
छक्कापञ्जा लिक भएको आरोपमा प्रहरीले एक साताअघि चार युवा श्रीजल भट्टराई, अनिस रञ्जित, सागर सापकोटा र कृष्ण सुवेदीलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । केही दिनअघि निधन भएका कलाकार आरपी भट्टराई -लादालाम) का छोरा श्रीजल भट्टराईले चलचित्रको कपी आफ्ना साथी अनिस रञ्जितलाई दिएका थिए ।
अनिसले आफ्ना साथी सागर सापकोटालाई हेर्नका लागि दिएका थिए तर सागरसँगै कोठामा बस्ने कृष्णले गुगल ड्राइभमा फिल्म अपलोड गरेर लिक गराएका थिए ।
तर कृष्णका साथी र परिवारले दिपकराज गिरीले अश्लिल शब्द प्रयाेग गरेर गाली गर्ने र दुई वर्ष जेल र ५० लाख जरिवाना गरिदिने भन्छु भनेर मानसिक तनाव दिँदै अाएकाे बताएका छन् ।