पैसा लिएर पूर्वनिर्धारित योजना बमोजिम बम पडकाउन नमानेपछि काका–भतिजाको घाँटी रेटेर हत्या गरिएको खुलेको छ । १० दिनअघि बारा, हरैया गाविसस्थित जंगलमा १८ वर्षे भारतीय नागरिक दीपक र २८ का अरुण रामको शव फेला परेको थियो । प्रहरी अनुसन्धानमा १२ लाख रुपैयाँ लिएर विस्फोट गराउन नमानेपछि उनीहरूको हत्या भएको खुलेको हो ।
अरुण काका र दीपक भतिजा हुन् । हत्याको अनुसन्धान थालेको प्रहरीको विशेष ब्युरोले गत आइतबार पर्सा, बिजबनिया ७ गढैयाटोलबाट ‘गिरी बाबा’ भनिने वृजकिशोर गिरीलाई नियन्त्रणमा लिएको थियो । स्रोतका अनुसार बारा महागढीमाई ८ सेमरा निवासी गिरीले विस्फोट गराउने योजना बाहिरिने डरले दुवैलाई बिहारबाट बोलाएर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
प्रहरीका अनुसार कलैया नगरपालिका १० निवासी मोजाहिर अन्सारीको सहयोगमा गिरीले दुवैको हत्या गरेका हुन् । हत्याको तेस्रो दिन मध्यक्षेत्रीय प्रहरी हेटौंडाको टोलीले अन्सारीलाई कलैयाबाट पक्राउ गरेको थियो । मृतकले प्रयोग गर्ने भारतीय मोबाइलको कल विवरणका आधारमा प्रहरीले अन्सारी र गिरीलाई नियन्त्रणमा लिएको थियो । पुस ९ गते घरबाट मोटरसाइकलमा निस्किँदा दुवैले नेपालबाट फोन आएको जानकारी परिवारजनलाई गराएका थिए ।
काका–भतिजा हत्यामा भारतमा आतंककारी घटना घटाउने समूहको संलग्नता देखिएपछि विशेष ब्युरोको टोली थप अनुसन्धानका लागि गत साता कलैया आएको थियो । अन्सारीको बयानको आधारमा पर्साका आफन्तको घरमा लुकेर बसेका गिरीलाई ब्युरो टोलीले गत आइतबार पक्राउ गरेको थियो । प्रहरीलाई देखेर भाग्न खोज्दा बायाँ खुट्टामा गोली लागी घाइते भएका गिरीको भरतपुरमा उपचार भइरहेको छ ।
गाउँलेले प्रतिकार गर्दा प्रहरीले ६ राउन्ड गोली चलाएको थियो । विशेष ब्युरोका डीआईजी बमबहादुर भण्डारीले अनुसन्धान पूरा नभइसकेकाले केही बताउने अवस्था नरहेको बताए ।