पोखरामा लगातार तेश्रो दिन आज अर्को एकजना कोरोना संक्रमणबाट मृत्यु भएको छ। आजै गण्डकी प्रदेश अन्तर्गत रहेको नवलपुर जिल्लाका एक जनाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, हिजो मात्र कोरोना पुष्टि भएका स्याङजा स्थायी ठेगाना भई पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत ८१ वर्षीय वृद्धको गएराति ११ : ३० बजे मृत्यु भएको छ । संक्रमित वृद्धमा मृगौला र मुटु सम्बन्धी समस्या रहेको थियो ।

त्यसै गरी कलेज अफ मेडिकल साइन्स चितवनमा उपचाररत नवलपुर गैँडाकोट १ का ३६ वर्षीय युवकको कोरोना बाट मृत्यु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार असोज २० गते कोरोना पुष्टि भएका युवकको उपचारको क्रममा शुक्रबार दिउसो ३ : ५५ बजे मृत्यु भएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा २०७७ असोज २४ गते जारी बिज्ञप्ति

यसैबीच गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार, पोखरामा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १० जनालाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १ का ३७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । उनी कपडा पसल तथा होम डेकोरका सञ्चालक हुन् । पोखरा ७ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३१ र ६० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो । ३१ वर्षीय पुरुष सडक कार्यालय पोखरामा कार्यरत रहेका छन् ।
पोखरा १० की २४ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा १३ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित १७ वर्षीय किशोरी तथा ३१ वर्षीय पुरुष रहेका छन् ।
पोखरा १७ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २९ र ३५ वर्षीय महिला तथा ४२ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमित ३५ वर्षीय महिला नेपाल विद्युत प्राधिकरण पोखरा शाखाका कार्यरत रहेकी छिन् ।
त्यस्तै पोखरा २६ का १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित २६ वर्षीय महिला हुन् ।
आज बिहान समेत पोखरामा १६ जनालाई संक्रमण पुष्टि भएको थियो ।
स्याङ्जाका १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ८ का ५१ वर्षीय पुरुष हुन् ।
पर्वतमा १ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १० का ३० वर्षीय पुरुष हुन् । उनी नेपाल टेलिकम काठमाडौंमा कार्यरत रहेका छन् ।
त्यस्तै गोरखामा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पालुङटार ७ की २५ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ६ सय ९२ पुगेको छ ।