आजदेखि नयाँ वर्ष सन् २०१७ को सुरुवात

आजदेखि नयाँ वर्ष सन् २०१७ को सुरुवात


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १७ पुष २०७३
  • 8.2K
    Shares

एजेन्सी, १७ पुस ।

आजदेखि नयाँ वर्ष सन् २०१७ को सुरुवात भएको छ । नयाँ वर्षको अवसरका विश्वभर मनोरञ्जनात्मक कार्यक्रम भइरहेका छन् । सन् २०१६ लाई बिदाई गर्दै एक आपसमा शुभकामना दिँदै नयाँ वर्ष मनाईन्छ ।

अमेरिका, युरोपेली मुलुकसहित, एशियाली राष्ट्रमा आपसी भेटघाट गरी उत्सवका रुपमा नयाँ वर्ष मनार्इंदैछ ।  नयाँ वर्षको पूर्व सन्ध्यामा हुन  सक्ने  सम्भावित दुर्घटना र आक्रमणका लागि ठाउँ ठाउँमा सुरक्षा व्यवस्था कडा पारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मुख्य गरी जर्मनी र फ्रान्समा सुरक्षा सतर्कता बढाइएको विविसीले जनाएको छ । यस्तै लण्डनमा नयाँ वर्षलाई मध्य नजर गर्दै हजारौँ थप प्रहरी खटाइएको छ ।

टर्कीको इस्तानबुलमा १७ हजार प्रहरी अधिकारी डिउटीमा खटिएका छन् । जापानको राजधानी टोकियोमा नयाँ वर्षको विशेष कार्यक्रम भएको छ । यस्तै चीनको राजधानी बेइजिङको ओलम्पिक पार्क, अस्ट्रेलियाको सिड्नी, लण्डन, हङकङ, ब्राजिल, जर्मनी, हंगेरी, अमेरिका लगायत राष्ट्रमा आतिशबाजीसहित कार्यक्रम भइरहेका छन् ।

यसैबिच नयाँ वर्ष मनाइरहेका बेला टर्कीको इस्तानबुलमा आक्रमण भएको छ । नाइट क्लबमा आक्रमण भएको र धेरै जना घाइते भएका विविसीले जनाएको छ । सान्टा क्लजको पोशाक लगाएर आएका दुई जनाले आक्रमण गरेका टर्कीको राष्ट्रिय टेलिभिजनले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया