बझाङ उद्योग बाणिज्य संघको नयाँ कार्य समितिका लागि भएको निर्वाचनमा बुधबार ढुङ्गा मुढा प्रहार भएको छ । मतदाताको सुचिमा रहेका साधारण सदस्यहरुको विषयमा विबाद चर्किएपछी दुई पक्ष विच मुडभेड हुँदा ढुङ्गा मुढा प्रहार भएको थियो । बाहिरबाट ढुङ्गा मुढा भएपछि सुरक्षामा खटिएका एकजना प्रहरी जवान प्रकाश भण्डारी घाइते भएका छन् । यस्तै मतदान केन्द्रमा रहेका टेबुल कुर्सी तोडफोड गरिएको छ ।
पुस १० गते उद्घाटन भएको बझाङ उद्योग बाणिज्य संघको १२ औँ साधारण सभा तथा चौथो जिल्ला अधिवेशनमा सहमति नभएपछि दुई प्यानल चुनावी प्रतिस्पर्धामा आएका छन् । नेपाली कांगे्रस समर्थित र नेकपा माओवादी केन्द्र समर्थित ब्यापारीहरुले सहमति गरेर दानबहादुर सुर्मेलीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्य समिति चुनावी प्रतिस्पर्धामा ल्याएको छ । यसका साथै नेकपा एमाले समर्थित ब्यापारीहरुले निवर्तमान अध्यक्ष जगत मल्लको नेतृत्वमा टोली प्रतिस्पर्धामा ल्याएको छ ।
१ हजार ३७ साधारण सदस्य रहेको बाणिज्य संघको चुनावमा ३ सय मत खसेपछि सदस्यको विषयलाई लिएर विवाद भएको प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डारीले जनाकारी दिए ।
प्रहरी निरीक्षक भण्डारीका अनुसार चलिरहेको निर्वाचनमा एकाएक ढुङ्गा मुढा भएर निर्वाचनस्थल नै तोडफोड भएपछि निर्वाचन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लसहित उम्मेद्वाार र अन्य जिम्मेवार ब्यक्तिहरुसँग छलफल भैरहेकोसमेत निमित्त प्रहरी प्रमुख भण्डारीले जानकारी दिए ।
उद्योग बाणिज्य संघमा नेपाली कांगे्रस, माओबादी केन्द्र समर्थनको एक प्यानल र एमालेको प्यानल भएपछि पार्टीका नेता कार्यकर्तासहित शुभेक्षुकहरु पनि आआफ्नो समर्थनलाई जिताउन लागि परेका छन् ।