सार्वजनिकस्थानमा वनेको किरियापुत्री भवन प्रयोग गर्न नदिंदा पोखरा १६, वाटुलेचौरका जनताबीचको बिबाद भुसको आगो जस्तै बनिरहँदा स्याङ्गजाका एक व्यक्ति आफु भाडामा बसेको पोखरा मालेपाटनस्थित घरमा नै निर्धक्कसाथ आफ्नी आमाको काजकिरिया गरिरहेका छन्।
स्याङ्ग्जा जिल्ला पुतलिवजार न पा वडा न १३ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित आश्रित मार्गमा बस्दै आएका ” मखन दाइ ” भनेर चिनिने धनबहादुर मोचीले आफ्नै डेराकोठामा आमाको काजकिरिया गरिरहेका छन्।
उनकी आमा ८० वर्षिया आमा समुन्द्र मोचीको गएको बैशाख २१ गते निधन भएको थियो। पोखराको रामघाटमा आमाको पार्थिब शरीरमा दागबत्ती दिंदा नदिंदै त्यहाँ प्रश्न उठ्यो।”किरिया कहाँ बस्ने ? स्याङ्गजा घरमा कि पोखरा मालेपाटन डेराकोठामा ?” एकातिर देशमा कोरोना संक्रमण फैलिन नदिन लक डाउन लगाइएको विसम अवस्था थियो , अर्कातिर आफु समाजले निर्धारण गरेको कथित दलित जातको र घरबेटी वलराम राउत कथित उच्च जातको।
उपस्थित आफन्त र मलामीहरु बिच ब्यापक छलफल एबम बिचार बिमर्श भयो। मखन दाईले आमाको किरिया पोखरामै गर्ने निधो गरे। उनले धक मानी मानी तनहुँको सदस्र्मुकाम दमौलीमा रहेका आफ्ना घरबेटी बलराम राउतलाई फोन गरे र आफ्ना समस्या अनि जटिलताको बेलीबिस्तार लगाए।
उनको कुरा फोनमा सुनेपछि घरबेटी राउतले सहजै जवाफ दिएकी,” एक दिन त सबैले मर्नु पर्छ नै। स्वर्ग जाने कि नर्क भगवानको हातमा छ। आखिर हामी पनि एक दिन जसै मर्नु पर्छ। लक डाउन लागेको यस्तो अवस्थामा निस्केर कता जानुहुन्छ ? त्यहि घरमै उम्काउनुस। अर्को कुनै …..सोच्नै पर्दैन।”
एउटा मानिस भएर अर्को मानिसलाई अप्ठ्यारो परेको अवस्थामा सहज रुपमा सहयोगको बचनले उपस्थित मलामीहरुमा उत्साह पैदा भयो र उनीहरुको घरबेटीप्रति श्रद्धा पनि आयो। सबैको मनमा आवाज आयो,’ भगवानले रक्षा गरुन। सबैको भलो होस्।’
मखन दाई अहिले पोखरा ५ स्थित आश्रीत मार्गमा रहेको बलराम राउतको घरको माथिल्लो तलामा आमाको मृत्युकर्म गरिरहेका छन्। उनलाई भेट्न र सान्त्वना दिन दैनिक मानिसहरुको आवतजावत चलिरहेको छ। उनी खुशी छन् “हामिलाइ घरवेटिले सार्है सहज बनाइदिनु भो। आमाको परमधामले दु:खभित्र छौं। तर धेरै खुशी छौं।”
समाजले निर्धारण गरेको कथित उच-निच जात अनि दलित-गैरदलित बिचको पर्खालले उनीमा ठुलो तानाब थियो, आमाको किरिया कर्म कसरी गर्ने ? तर अहिले मखन दाई र उनकी श्रीमतीलाई मनकारी र मानवतावादी घरबेटीकाकारण किरियाकर्म गर्न सजिलो भएको छ। उनलाई आफु कथित दलित भएकोमा शिर निहुर्याउनु परेको छैन। मखन दाई आमाको किरिया गरिरहेका छन्। उनी सदा झैं नियमित योग गर्छन र हनुमान चालिसा पढ़छ्न र गायत्री मन्त्र पनि जपिरहन्छन।

अहिले पोखराको मालेपाटन आश्रित मार्गमा न कुनै “जात ” को जित छ न कुनै समुदायको प्रतिष्पर्धा। न त्यहाँ कसैलाई कुनै कुराको हीनताबोध छ न बिश्मय। अहिले आश्रित मार्ग
सदभावको असली सुन्दर पाठशाला बनेको छ। अनि घरबेटी राउत मानवताको पुजारी बनेका प्रसंशायोग्य पात्र।