तनहुँ, ८ भदौ २०८३ ।
तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा सडकको एक लेन अवरुद्ध भएको छ।
आइतबार साँझ करिब ७ः४५ बजे माथिबाट खसेको पहिरोले राजमार्गको एक लेन पुरिंदा पृथ्वीराजमार्ग एक लेन अवरुद्ध भएको हो ।
पहिरोका कारण अर्को लेनबाट समेत सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पहिरो खसेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली घटनास्थलमा पुगेको छ।
प्रहरी टोलीले पहिरो हटाएर राजमार्गमा यातायात सहज बनाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।
पहिरोका कारण राजमार्गमा सवारीसाधनको आवागमन प्रभावित भएकाले प्रहरीले चालक तथा यात्रुलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।