पोखरा, ८ भदौ २०८३ ।
सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोकमा तीन वर्षीया बालिकाको हत्या भएको घटनामा प्रहरीले उनकी सौतेनी आमालाई नियन्त्रणमा लिएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालिकाको हत्या सौतेनी आमाले गरेको खुलेपछि प्रहरीले सौतेनी आमालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार , स्थानीय मोहम्मद इरफानकी तीन वर्षीया छोरी खुशी भनिने सानिया खातुन आइतबार बिहान करिब ९ बजेपछि घरबाट अचानक बेपत्ता भएकी थिइन्। परिवारका सदस्यले बालिका हराएको जानकारी दिएपछि खोजी गर्ने क्रममा घरबाट करिब ६० मिटर पछाडि रहेको झाडीमा उनको शव फेला परेको थियो।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्कासहितको टोली घटनास्थल पुगेको थियो। घटनाबारे अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले मृतक बालिकाकी १९ वर्षीया सौतेनी आमा मुस्कान खातुनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बालिकाका बुबा इरफानका दुई पत्नी छन्। स्थानीयका अनुसार दुई पत्नीबीच सम्पत्तिको हकदार को हुने भन्ने विषयमा विवाद हुँदै आएको थियो। इरफानकी जेठी पत्नी र छोरी पुर्ख्यौली घरमा बस्दै आएका थिए भने कान्छी पत्नी मुस्कान सोही क्षेत्रनजिकै डेरा लिएर बस्दै आएकी थिइन्।
स्थानीयका अनुसार शनिबार पनि दुई पत्नीबीच यही विषयलाई लिएर विवाद भएको थियो। त्यसको भोलिपल्ट बालिका मृत अवस्थामा फेला परेकी हुन्। बालिकाका बुबा इरफान भने वैदेशिक रोजगारीका क्रममा हाल कतारमा रहेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
बालिकाको हत्या भएको घटनापछि आक्रोशित स्थानीयले आइतबार दिउँसो केही समय रुपनी बजार बन्द गराएका थिए। स्थानीयको प्रदर्शनका कारण राजमार्गमा समेत केही समय यातायात प्रभावित भएको थियो। हाल भने बजार र राजमार्गको अवरोध हटिसकेको प्रहरीले जनाएको छ।