पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको परमादेश


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ भाद्र २०८३
  • 1.7K
    Shares

काठमाडौं,१ भदौ २०८३।

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ।

श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई रिहा गर्न परमादेश जारी गरेको हो।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइपछि सर्वोच्चले श्रेष्ठलाई निरन्तर हिरासतमा राख्न आवश्यक नरहेको ठहर गर्दै अनुसन्धानका क्रममा हाजिरी जमानी वा तारिखमा राख्न सकिने व्यवस्था मिलाउन आदेश दिएको हो। सर्वोच्चको आदेशसँगै पत्रकार श्रेष्ठ रिहा हुने भएका छन्।

त्यति मात्र हैन , म सोही इजलाशले पत्रकार किशोर श्रेष्ठको घर तथा अफिसबाट प्रहरीले बरामद गरेका सबै सामान फिर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुबेदी र बाबुराम ढकालले ती सामानहरु अदालतका सहरजिष्टारको रोहबरमा पत्रकार श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठलाई फिर्ता दिन भनेका छन् ।

आदेशको ९ नम्बर बुँदामा निवेदक सञ्चार संस्थासँग सम्बद्ध रहेको तथा नेपालको संविधानअनुसार सञ्चारमाध्यमका सञ्चार सामग्री जफत गर्न र सञ्चारमाध्यम अवरुद्ध गर्न नपाइने उल्लेख छ ।

श्रेष्ठलाई पक्राउ गरिएलगत्तै प्रहरीले साउन २७ र २८ गते जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवासमा छापा मारेर कम्युटर, ल्यापटप लगायतका उपकरण बरामद गरेको थियो ।

यसअघि आजै काठमाडौं जिल्ला अदालतले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत बुधबार पक्राउ गरेको थियो । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया