म कार्ल माक्र्सको पँुजी भाग–२ को अध्ययनमा व्यस्त थिएँ । टिभीमा रिमोट घुमाइरहेका एक बन्दी साथीले भने, दाई इरानी जर्नेल मारिए अमेरिकी हमलामा, विश्वको हट न्यूज भन्दा झसंग भएँ । इरान–अमेरिकी तनावसँग म जानकार नै थिएँ र पछिल्ला दिनमा एक अमेरिकी ठेकेदारको मृत्यु र बगदादस्थित अमेरिकी दुतावासमा इरानी समर्थन प्राप्त मिलिशिया र जनसमुहको हमलाले मध्यपूर्वमा कुनै नयाँ घटनाको संकेत गर्दैछ भन्ने त लागेको थियो । यी घटनाहरुका पछाडी इरानीको हात छ भन्ने अमेरिकी दोषारोपणले तनाव झन् बढ्दो छ भन्ने भान पनि परेकै थियो । तर यस स्तरको घटनाको अनुमान थिएन, मेरो दिमागमा र सायद हत्यारा अमेरिका बाहेक बाँकी विश्व र स्वयं इरानले पनि अनुमान नगरेको हुनुपर्छ । महशुस भएको भए कासिम सुलेमानी र उच्च अधिकारीहरुको यात्रामा गोप्य शैली अपनाइ हाल्थे । त्यसपछि अल जजिरा, सीएनएन, बीबीसी आदि दूरदर्शनमा हामीले आँखा दौडायौं । बगदाद विमानस्थल नजिक सुलेमानि सवार कार अमेरिकी हमलामा परेर जलिरहेको दृश्य देख्न सकिन्थ्यो ।
अमेरिकाले धेरै पहिले नै इरान, सिरिया र उत्तर कोरियालाई दुष्टहरुको जमात भनेर हमालाको सूचिमा राखेकै थियो । चिनको भित्तामा अडेस लाएर अमेरिकालाई बारम्बार धम्काइरहने उत्तरकोरियालाई अमानविय नाकाबन्दीको सिकार बनाउने अमेरिकी दुस्प्रयास जारि नै छ र दुई देशबीच कुनबेला के हुन्छ अनुमान गर्न गाह्रो पर्नेगरी विश्व रंगमञ्चमा आणविक अस्त्रधारि दुई मुलुक आमनेसामने वाक युद्धमा सरिक छँदैछन्् । रुसको प्रत्यक्ष सैन्य र बलियो साथ पाउँदापाउँदै पनि अमेरिकी योजना,तालिम,हतियार र पैसा पाएका विद्रोहीहरुसँगको झण्डै एकदशक लामो युद्धबाट सिरिया तहसनहस भएको छ । अलेपो, होम्सलगायत त्यहाँका सुन्दर शहरहरु भुत बंगलाझैं भग्नावषेशमा परिणत भएका छन् । लाखौं नागरिक शरणार्थी बन्न बाध्य भएका छन् । आज सिरिया अमेरिकाद्वारा सिर्जित आतंकवादको भुङ्ग्रोमा पिडादायी जलन खेपिरहेको छ ।
विश्वका अन्य शक्ति केन्द्रहरु रुस र चीनको साथ र क्षेत्रीय शक्ति सन्तुलनका कारण प्रत्यक्ष सैन्य हस्तक्षेप नगरेपनि आणविक ऊर्जा उत्पादनको बाहाना बनाएर अन्यायपूर्ण र अमानुषिक नाकाबन्दी लादेर थिलोथिलो पार्दै अनुकुल मौका पर्खिरहेको अमेरिकाले यसपटक इराकको घटनालाई आधार बनाएर फायर खोलेको छ । सत्तामा आएलगत्तै ‘अमेरिका पहिलो र विश्वमा श्रेष्ठ अमेरिकी’ जस्ता अहंकारी र अन्धराष्ट्रवादी अभिव्यक्तिमा बाँडी विश्वप्रति हेपाहा भाव व्यक्त गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगले डामिएकै समय आफ्नो अपराधिक र हत्यारो चरित्र पनि प्रदर्शन गरेका छन् । सार्वभौम राष्ट्र इरानका एक सैन्य कमाण्डरको हत्या गरेर । यसरी अमेरिका आफ्नो लुटको साम्राज्यमा बाधक बनेकालाई सफाया अभियानमार्फत कत्लेआम मात्रै गर्दैन विश्वमा आतंकवादको खेती पनि गर्छ र विश्वमानचित्रको जुन कुनामा सापेक्षिक शान्ति छ, त्यो उसलाई सह्य हुँदैन र कुनै न कुनै बाहानामा त्यहाँ नङ्ग्रा गाडिहाल्छ । अनि महादेवको आशिर्वादधारी भष्मासुरलेझैं अशान्ति र युद्वको आगो झोेस्दै मानवता र प्रजातन्त्र भस्म पार्दै हिंड्छ विश्वभरि । त्यसैले आज अमेरिका एक्काइसौं शताब्दीको ‘टेरिरोजम एक्सपोर्ट सेन्टर’ अर्थात ‘आतंकवाद निर्यात केन्द्र’ को टेका बनेको छ । युद्धले क्षतविक्षत बनेको मध्यपूर्व र सुलेमानी हत्या त्यसैको पछिल्लो उदाहरण हो । अब ‘टेका’ र विश्वबारे संक्षिप्त चचौ गरौं ।
१) टेका र मध्यपूर्व
मध्यपूर्व विश्वको खनिज तेलको भण्डार हो र त्यही उपर कब्जाको योजना बुनेर अमेरिकाले उम्कनै नसकिने युद्वको माझमा धकेलेको छ । त्यस क्षेत्रलाई भलै त्यसका पछाडी सामाजिक स्वार्थ पनि छँदैछ । सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्वका पछाडी पनि इराकको पक्ष लिँदै अमेरिका नै निर्णायक भूमिकामा उभिएको थियो । आफैलै बलशाली बनाएको र पछि आफ्नो स्वार्थ सिद्ध नभएपछि इरक उपर नरसंहारकारी हमला गर्दै सद्दामलाई झुण्डाएर मार्ने ठाउँमा पुग्यो टेका । आफ्नै सुरमा बढिरहेको इराकलाई टेकाले युद्वको यस्तो डर लाग्दो डढेलोमा तान्यो, मानौंं त्यो कहिल्यै पनि निभ्ने छैन । उता यमनमा चलिरहेको रक्तपातपूर्ण संघर्षले यस्तै विकराल रुप लिँदैछ । सिरियाको स्थितिबारे माथि नै छोटो चर्चा गरिसकेको छ । प्यालेष्टाइनीहरु जो साँचो अर्थमा त्यहाँका माटोका हकदार हुन्, तिनलाई मुलुकबिहान बनाएर इजरायललाई टेकाको भूमिका प्यालेष्टाइनीहरुको स्वाभिमानको अन्तहिन लडाइँले दशकौं पार गरिसकेको छ र रोकिने कुुनै छाट छैन । यसैबीच टेकाले प्रकाशन गरेको विश्वको नक्साबाट प्यालेष्टाइन भन्ने राज्य नै लोप गराएको छ । इजिप्टको अस्तव्यस्तता पनि सामान्य छैन । कतारमाथि नाकाबन्दी गर्न साउदी अरब र टेकाका नियमित ग्राहक र मतियारहरुलाई उक्साएर अस्थिरताको बलियो जग गाडेको छ । जोर्डन आदि राष्ट्रहरु तनाबमुक्त छँदै छैनन् । यसो भनौं मध्यपूर्वको बर्बादीको पछाडी टेका र तिनका पिछलग्गुहरु जिम्मेवार मात्र छैनन्, अपराधी पनि बनेका छन् ।
पछिल्लो समय अमेरिका र तिनका दलालका लागि मध्यपूर्वमा सुलेमानी एक खतरनाक र बिझाउने काँडा बनेका थिए जबकी इरानी जनता र मध्यपूर्वमा अमेरिकी मारमा परेर निसास्सिरहेका राष्ट्र र जनताका नजरमा एक नायक । इरानी रिभोलुस्नरि गार्ड अन्तर्गत विशेष दस्ता कङ्सका कमाण्डर, एक इरानी सैन्य रणनीतिज्ञ, सुनेमानी सर्वोच्च नेता आयतुल्ला खोमेनीका विश्वास पात्र र भरपर्दा सैन्य अधिकारी थिए, अनि मध्यपूर्वमा टेकालाई घायलकायल पार्ने एक कमाण्डर पनि ।
२) कोरियाली प्रायदीप
अमेरिकाको कारण वर्तमानमा सधैँ तनाव र अशान्त रहेको अर्को क्षेत्र हो कोरियाली प्रायदीप । जहाँ उसले हजारौंको संख्यामा सैनिकहरु तैनाथ गरेको छ र अत्याधुनिक विनाशकारी अस्त्र पनि । टेका त्यहाँबाट उत्तर कोरियालाई नामोनिशान मेटाइदिने धम्कि बारम्बार दिइरहन्छ, स्थितिलाई उत्तेजनात्मक र असामान्य बनाइ रहन्छ । किनकि यो टेकाको धन्दा र विशेषता हो । उत्तरसँगको तनावका अलावा दक्षिण कोरिया र जापानका विभिन्न भागमा रहेका अमेरिकी सैन्य अखडाहरुले ज्यादति, हमला, बलात्कार र अन्य घटना गराएर आतंक मच्चाएको समाचार पनि बेला बेलामा सार्वजनिक भई नै रहेको छ । यो टेकाको अर्को परिचय हो । यो प्रायदिपकै पेरिफेरिमा रहेको साउथ चाईना सीमा पनि अमेरिकी आतंकले बेलाबेला भयंकर छाल उछाल्ने गर्छ । विश्वको शक्तिशाली राष्ट्र चिनले आफ्नो आकाशमा छिरेको टेकाको जासुसी विमानलाई खसालिदियो नै । र त्यस दौरान मारिएका आफ्नो वायु सेनाका चालकलाई जमिन र आकाशको सहिद भनेर सम्मान दियो चीनले ।
३) अफ्रिका
आफ्नो गर्भमा बहुमुल्य खनिज लिएर धर्तिआमा अफ्रिकी महादेशमा लमतन्न परेकी छन् । सापेक्षिक रुपमा युरोपेलीहरुको प्रभाव रहँदै आएको अफ्रिकाको सोमालियामा अमेरिकी युद्धले निम्त्याएको विपत सामान्य छैन । लिविया यसरी ध्वस्त भएको छ कि अमेरिकी हमला र त्यसपछि सिर्जित परिवेशले उसलाई दशकौं पछि धकेलिदिएको छ, जब टेकाले त्यहाँ पाइला टेक्यो र लिवियाली नेता कर्णेल मोहम्मद गद्दाफीको हत्या ग¥यो । त्यस महादेशका झण्डै आधा दर्जन राष्ट्रहरुमा मारकाट बिस्तार हुँदै गइरहेको छ र त्यसमा फ्रान्स नराम्ररी फसेको छ । त्यहाँको बहुमुल्य खनिज हिरा, मोती, सुन, चाँदी, जवाहरत कुम्ल्याउने कुत्सित दाउमा त्यहाँ टेका आफैं धामी–आफैं बोक्सीको भूमिकामा ब्यस्त छ ।
४) दक्षिण अमेरिका
आफ्नो नाकै मुनि रहेको दक्षिण अमेरिकालाई आफ्ना कठपुतली शासकहरुमार्फत नियन्त्रणमा राखेको छ टेकाले । रसियाली सैन्य टुकडीको उपस्थिति नभएको भए धेरै पहिले टेकाले भेनेजुयलालाई टोकिसकेको हुने थियो र वर्तमानमा त्यहाँका जनता युद्वको कहालीलाग्दो सामना गरिरहेको हुने थिए । उता बोलिभियामा टेका नयाँ स्वरुपको अभियान चलाइरहेछ । मेक्सिकोसँगको सिमामा अग्ला पर्खालको बहसले अग्लिएको विवादबाट विश्व अनभिज्ञ छैन ।
५) हिन्द प्रशान्त क्षेत्र र दक्षिण एशिय
आफुले ३ सय वर्ष लगाएर गरेको प्रगती चिनले सत्तरी वर्षमै पूरा गरेपछि र सैन्य अनि आर्थिक रुपले वर्तमानमा आफुलाई चुनौती दिने शक्तिको रुपमा उदाएपछि टेका चिनलाई कसरी विध्वंश गर्ने षड्यन्त्र जालो बुन्दै इन्डोप्यासिफिक रणनीति (आइपिएस)को अस्त्र बोकेर यस क्षेत्रमा पसेको छ । अनि अफ्रिका र दक्षिण अमेरिकामाझैं यस क्षेत्रमा पनि आइपिएसको अंगको रुपमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नामक कथित अनुदान कार्यक्रम लिएर देखा परेको छ । चीनलाई घेराबन्दि गर्ने र आफ्नो सैन्य गठबन्धनमा अपत्यारिलो गरी आर्थिक सहयोगको माध्यमबाट जोड्ने रणनीति अन्तर्गत आइपिएस र एमसीसी आएको छ, जुन टेकाको नयाँ र परिष्कृत कार्यक्रम हो ।
अमेरिका अहिले विश्वमा आतंकवाद सप्लायर्स एण्ड कम्पनीको मुख्यालय भएको छ । जहाँजहाँ उसको हस्तक्षेपकारी पाइला परेको छ, त्यो देश र क्षेत्र डरलाग्दो र अंध्यारो भविश्यतर्फ धकेलिएको छ र वर्वाद बनेको छ । उसले रोपेको आतंकवादी विजको कारण सद्दाम हुसेनको अपराध अन्त्य गर्ने नाउँमा इराक र इराकी जनतालाई यसरी ध्वस्त बनाएको छ कि त्यसको प्रत्यक्ष प्रसारण हामी दिनहुँ हेरिरहेका छौं । साथै, मध्यपूर्वदेखि अफगानिस्तानसम्म अमेरिकी आतंकको सिकार भएका देशहरु सबै दिनहँु मृत्यु दिइरहेका छन् । त्यहाँ शान्तिको नामो निशान छैन । बम गोला नपड्किएको दिन छैन । निहत्या नागरिक नमारिएको पल छैन । टेकाले निर्यात गरेको आतंकवादले विश्वलाई नराम्ररी सताइरहेको छ । त्यो खुनी अनुहार नेपालमा पनि एमसीसीको मुकुण्डो लगाएर आईपिएसको एक भाग बनेर भित्रिँदै छ । सहयोगको बाहनामा अमेरिकी सैन्य अखडा स्थापनाको वातावरण तयार पार्दैछ र बुद्धको देश नेपाललाई ट्रम्पको पागलखाना बनाउने कोसिस गरिँदैछ । अनि यहाँका अमेरिकी दलालहरु माटो र जनताको परवाहा नगरी उसको असली आदेश पालक धृष्टता गरिरहेका छन् ।
एमसीसीबारे अन्र्तक्रिया, लेख र सञ्चार माध्यमहरुमा व्यापक बहस भइरहेकै छ र पर्याप्त चर्चा पनि । म यहाँ संक्षिप्तमा यति मात्र भन्न चाहन्छु, सम्झौताको धारा ३ को दफा ३.२ (च) मा सम्पूर्ण बौद्धिक सम्पतिमा अमेरिकाको पूर्ण अधिकार, धारा ३ कै दफा ३ (८) क मा परियोजनाको लेखा परीक्षण अमेरिकी कम्पनीले मात्र गर्न पाउने, ३. धारा ५ को क र ख मा अमेरिकी कम्पनीले चाहेमा यो सम्झौता रद्ध गर्नेछ, धारा ७ को दफा ७ को (क) मा नेपाली राष्ट्रिय कानुन बाझिएमा एमसीसी लागु हुने कुरा निकै आपत्तिजनक । यसले अमेरिकी परियोजनालाई नेपालको संविधानभन्दा माथि राखेको । संविधानअनुसार बनेका कानुन खारेज गरेर भएपनि एमसीसी लागु गर्नु भनेको राष्ट्रघात नै हो ।
त्यसैगरी अनुसुचि १ (ग) को २ मा यस परियोजनामा नेपाल सरकारले राज्यका कुनैपनि निकाउयलाई खटाउँदा एमसीसीको अनुमति लिनुपर्ने उल्लेख छ । अनुसूची (४) मा नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार पारि पठाउर्नेछ र त्यस्तो योजना इन्डियाले समर्थन गरेको हुनुपर्नेछ भनिएको छ । किन चाहियो भारतको सहमति ? के यो त्रिदेशीय सम्झौता हो र ? भारतकको अनुमति लिनु पर्ने । अमेरिका र नेपालबीच भएको भए किन चाहियो भारतको समर्थन । यसले पनि के देखाउँछ भने यो आइपीएसकै अंग अर्थात सैन्य कार्यक्रम । हुन त अमेरिकी दुतावास र उच्च पदस्त अधिकारीहरुले नै एमसीसी आइपिएसको एक हिस्सा हो भनेर आधिकारिक प्रतिकृया दिइरहेका छन् । तर, नेपालको संसदबाट अनुमोदन गराउन गारो भएकोले पछिल्लो पटक सैन्य रणनीतिसँग सम्बन्धित छैन भन्न लगाइएको छ । त्यसअघि राजदूतले नै आईपिएसको अंग भएको कुरा सार्बजनिक रुपमा भनिसकेका थिए । तरपनि नेपालका केही व्यक्तिहरु एमसीसीमार्फत आउने पैसालाई ठूलो भन्दै उफ्रिरहेका छन् ।
उनीहरुले यत्रो पैसा कहाँ गुमाउनु हुन्छ, जे होला सहयोग त लिनैपर्छ भन्दै बर्बराइरहेका छन् । जुन एकदमै लज्जाको कुरा हो । र पैसा पाए नेपाली दलाल शासक र विदेशीका मतियारहरु आमा पनि बेच्न पछि पर्दैनन् भनेर गरिने टिप्पणी सावित हुन गएको छ । तर देशका सबै राष्ट्रवादी नागरिक, प्रशासक, उद्योगी, बौद्धिक, नागरिक समाज, राजनीतिकर्मी सबै सबैले एकढिक्का भएर यो राष्ट्रघाती कार्यको विरुद्धमा शसक्त संघर्ष अघि बढाउन र यसलाई असफल पार्न अत्यावश्यक छ ।
आखिर आज विश्व किन अशान्त छ ? विशेषतः मध्यपूर्व– अफ्रिका किन ? यसबारे हर सचेत मानवले गम्भीरतापूर्वक विचार र चिन्तन गर्नैपर्छ । यो अमेरिकी आतंक र साँढे संस्कृतिको दबदबा कहिलेसम्म जारी रहला ? आणविक हतियारको बलमा विश्वव्यापी टेका आतंक कहिलेसम्म जारीरहला ? के यसको प्रतिवाद संभव छैन ? के यसको अन्त्य संभव छैन ? के विश्वमा शान्ति संभव छैन ?
सर्वहारा वर्गका महान् गुरु एवम् विचारक क.लेनिनले आजभन्दा सयवर्ष पहिले नै पूँजिवादको विश्लेषण गर्दै भन्नुभएको थियो, “पूँजिवाद मरणशील छ र यसको उच्चतम रुप साम्राज्यवाद हो, जसको अन्त्य अवश्यम्भावी छ ।” लेनिनले भन्नु भएझैं पूँजिवाद आफ्नो चरम र अन्तिम अवस्थामा छ । तर मानव जातिलाई के डर छ भने – कतै आफ्नो अन्त्य सँगसँगै प्रकृति र मानवका सुन्दर सिर्जनाहरुलाई पनि नस्ट त गर्दैन ? यो खतराबाट मानव जाति चिन्तित छ । हामीले २०७३ फागुनमा नेकपाको आठौं महाधिवेशन थवाङबाट पूँजिवादको यो रुपलाई उत्तर साम्राज्यवाद भनि संश्लेषण ग¥यौं, जसको आशय उसको विघटन र अन्त्य झन् नजिकिएको छ ।
वास्तवमा पूँजिवाद भनेको शोषण हो । अरुको सिर्जना र पसिनामा लुट हो । पूँजिवाद वास्तवमा युद्व हो, अशान्ति हो । यो विभेदको सर्जक हो, द्वन्द्वको मुहान् हो । यो अन्याय र अत्याचारको विभिषिका हो । मध्यपूर्वमा अमेरिकी हस्तक्षेप वा आतंक, नरसंहारको कैयौं कारणहरुमध्ये एक त्यहाँको तेल भण्डारमाथि कब्जा जमाउनु हो । त्यसैले त्यहाँ सुलेमानीजस्ता टेकाका विरोधी र स्वाभिमानका हिमायतीहरुको बारम्बार हत्या भएरहेको छ र शान्ति र नागरिक अधिकारको खिल्ली उडाइएको छ । आफ्नै अन्त्यको सन्निकट रहेको साम्राज्यवाद शक्तिमा रहँदासम्म शान्ति सम्भव छैन, न समानता नै । मानव जातिको सिर्जनाको रक्षा संभव छैन । यसैले वैज्ञानिक समाजवाद र साम्यवाद विश्वमा उदाउनु अपरिहार्य भइसकेको छ । जसबाट मात्रै प्रकृति, सुन्दर संसार र मानव जातिको रक्षा संभव छ ।
यसर्थ नेपालीले सुलेमानीहरु मारिए भनेर चिन्ता गरेर मात्र पुग्दैन । एमसीसी बनेर त्यो हाम्रै घरभित्रै घुस्दैछ र आतंक खेतीको तयारी गर्दैछ भन्ने कदापि भुल्नु हुँदैन । साम्राज्यवाद जहिलेपनि सुरुमा धनको पोको र सुनका बाला नै बोकेर आउँछ भोको र रुग्ण बुढो सिंहले जस्तै । त्यसैले सम्पूर्ण नेपाली नागरिकले बेलैमा बुद्धि पु¥याउने होइन भने नेपाल अमेरिकी आतंकवादको अभ्यासस्थल बन्नेछ र एमसीसी कालान्तरमा भालुको कन्पट बन्नेछ । नेपाल र नेपालीलाई वर्वाद पार्ने छ, किनकि टेका जहाँ पुग्यो त्यहाँ युद्ध र अशान्ति मात्रै भित्रिएको छ – सबैलाई चिन्ता भया ।
नख्खु कारागार
ललितपुर