छाडा चौपाया नियन्त्रणमा बेवास्ता गरेको भन्दै युवाले गाउँपालिका कार्यालयमै गाईगोरु थुने

छाडा चौपाया नियन्त्रणमा बेवास्ता गरेको भन्दै युवाले गाउँपालिका कार्यालयमै गाईगोरु थुने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ४ भाद्र २०८३
  • 551
    Shares

पोखरा , ४ भदौ २०८३ ।

कपिलवस्तुको यशोधरा गाउँपालिकाका स्थानीय युवाले छाडा चौपाया नियन्त्रणमा गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाउँदै कार्यालय परिसरमै गाईगोरु थुनेका छन्।

बुधबार स्थानीय युवाको समूहले गाउँपालिका कार्यालयमा गाईगोरु ल्याएर थुन्दै चाबी लगाइदिएका हुन्। कार्यालयभित्रै चौपाया थुनिएपछि गाउँपालिकाको नियमित कामसमेत प्रभावित भएको छ।

स्थानीयका अनुसार छाडा गाईगोरुका कारण धान, गहुँ तथा विभिन्न तरकारी बालीमा निरन्तर क्षति हुँदै आएको छ। पटक–पटक समस्या समाधानका लागि गाउँपालिकाको ध्यानाकर्षण गराए पनि स्थायी समाधानका लागि पहल नभएको उनीहरूको गुनासो छ।

छाडा चौपायाले बालीनाली नष्ट गर्ने समस्या बढ्दै गएपछि आक्रोशित युवाले दबाबस्वरूप गाउँपालिका कार्यालयमै गाईगोरु ल्याएर थुनेका हुन्।

यता गाउँपालिकाका सूचना अधिकारी अनिलकुमार ओझाले स्थानीय युवाको समूह हल्लाखल्ला गर्दै गाउँपालिका कार्यालयमा प्रवेश गरी गाईगोरु भित्र्याएको बताएका छन्।

घटनापछि गाउँपालिकाको सेवा प्रवाहमा समेत केही समय अवरोध भएको जनाइएको छ। स्थानीयले छाडा चौपाया नियन्त्रणका लागि दीर्घकालीन तथा प्रभावकारी समाधान खोज्न गाउँपालिकासँग माग गरेका छन्।

प्रतिक्रिया