नेपालगञ्ज, ४ भदौ २०८३।
लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ।
निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहका अनुसार यात्रुको माग बढ्दै गएपछि सेवा पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो।
नेपालगञ्जबाट पोखरा सिधा जोड्ने यो हवाई सेवाले पश्चिम नेपालसँगै भारतको उत्तर प्रदेशका यात्रुलाई समेत पोखरा पुग्न सहज बनाउने अपेक्षा गरिएको छ। गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो।
बुद्ध एयरका अनुसार भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्यामा कमी तथा सञ्चालन खर्च र इन्धनको लागत बढी भएपछि केही समय उडान रोकिएको थियो। पछिल्लो समय धार्मिक पर्यटकको आवागमन बढ्नुका साथै नेपालगञ्ज–पोखरा उडानको मागसमेत बढेपछि सेवा पुनः सुरु गर्न लागिएको हो।
उडान तालिकाअनुसार अब आइतबार, बुधबार र शुक्रबार नेपालगञ्ज–पोखरा उडान हुनेछ। बुद्ध एयरले यात्रुका लागि बुकिङसमेत खुला गरिसकेको जनाएको छ।
नेपालगञ्ज–पोखरा हवाई सेवा पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपाल तथा भारतका पर्यटकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायका लागि महत्वपूर्ण रहेको बताउनुभयो।
उहाँका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरा र पश्चिम नेपालबीचको पर्यटन आवागमन सहज हुनुका साथै बाँकेको प्रसिद्ध बागेश्वरी मन्दिर र भारतको अयोध्यासहितका धार्मिक गन्तव्यमा आउने–जाने पर्यटकलाई समेत लाभ पुग्नेछ।
त्यस्तै, बाँके, बर्दिया, दाङ र सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा, मुस्ताङ तथा आसपासका पर्यटकीय क्षेत्रमा पुग्न पनि यो उडानले सहजता थप्ने व्यवसायीहरूको अपेक्षा छ।
स्थानीय पर्यटन व्यवसायीहरूको लामो प्रयासपछि २०७८ साउन १७ गतेदेखि नेपालगञ्ज–पोखरा सातामा तीन दिन नियमित उडान सुरु गरिएको थियो। बीचमा विभिन्न कारणले सेवा रोकिए पनि यात्रुको माग बढेसँगै पुनः उडान सुरु हुन लागेको हो।
नेपालगञ्ज–पोखरा हवाई सम्पर्क पुनः स्थापित भएपछि पश्चिम नेपाल र पोखराबीचको पर्यटन तथा व्यावसायिक सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ। विशेषगरी धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा यसले महत्वपूर्ण योगदान पुर्याउने पर्यटन व्यवसायीहरूको विश्वास छ।