पोखरा, ४ भदौ २०८३ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ मा रहेको करिब पांच बिघा व्यक्तिगत जग्गा किर्ते, ठगी तथा जालसाजी गरी बिक्री गरेको आरोपमा थप दुई जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भूमि प्रशासन कार्यालय, पश्चिम नवलपरासीका नायब सुब्बा राजेन्द्रकुमार बस्नेत र खरिदार झविन्द्र पाण्डे रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी मदन थापाका अनुसार अनुसन्धानका क्रममा भूमि प्रशासन कार्यालयका कर्मचारीसमेत घटनामा संलग्न रहेको आशंका देखिएपछि दुवै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।
यसअघि यही अभियोगमा प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका थिए। घटनामा संलग्न रहेको आरोप लागेका पाल्हिनन्दन गाउँपालिका–६ का शम्भुप्रसाद केवट र रामग्राम नगरपालिका–५ का सुदीप प्रताप यादव भने अझै फरार रहेको प्रहरीले जनाएको छ।
वडाध्यक्ष यादवविरुद्ध सरकारी कागजातमा फरक नाम, हस्ताक्षर र फरक उद्देश्यका लागि व्यक्तिहरूलाई साक्षी राखी तयार गरिएका कागजात दुरुपयोग गरेको आरोपमा २०८३ असार ११ गते इलाका प्रहरी कार्यालय बेलाटारीमा उजुरी परेको थियो।
उजुरीमाथि अनुसन्धान गर्ने क्रममा अर्कै व्यक्तिको भोगाधिकारमा रहेको जग्गा बिक्री वितरणका लागि विभिन्न निकायका कर्मचारी तथा अन्य व्यक्तिहरूको मिलेमतो भएको आशंका गरिएको थियो। सोही आधारमा नवलपरासी जिल्ला अदालतले २०८३ साउन ११ गते ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
पक्राउ पुर्जीबाट बच्न वडाध्यक्ष यादवले २०८३ साउन १८ गते विशेष अदालत तुलसीपुर, बुटवल इजलासबाट अल्पकालीन अन्तरिम आदेश लिएका थिए। तर, साउन २२ गते भएको सुनुवाइमा उक्त आदेशलाई निरन्तरता दिनुपर्ने अवस्था नरहेको भन्दै अदालतले यादवसहित ६ जनालाई नियमानुसार पक्राउ गर्न बाटो खुला गरेको थियो। त्यसपछि यादवलाई नवलपरासी जिल्ला अदालतको आदेशमा साउन २५ गते हाजिरी जमानीमा रिहा गरिएको जनाइएको छ।
पाँच बिघा जग्गा बिक्रीमा किर्तेको आरोप
साविक गुठी सूर्यपुरा गाविस–३ का स्वर्गीय मत्स्यराज रायका श्रीमतीद्वय स्वर्गीय उमरावती देवी राय र रमावती देवी रायको नाममा रहेको करिब ५ बिघा जग्गा किर्ते तथा जालसाजी गरी बिक्री गरिएको सूचना पाएपछि जग्गा भोगचलन गर्दै आएका स्थानीयले प्रहरीमा जाहेरी दिएका थिए।
जाहेरी दिनेहरूमा प्रतापपुर गाउँपालिका–७ का रोहित ठाकुर, वडा नं. ८ का जितेन्द्र हलुवाई, राजेश यादव, पप्पु भेडियार, विनोदकुमार पाल तथा वडा नं. ६ का असर्फी अहिर रहेका छन्।
जाहेरीकर्ता रोहित ठाकुरका अनुसार उनले २०६३ सालमा रमावती देवी रायसँग जग्गा खरिद गरी त्यसयता भोगचलन गर्दै आएका थिए। आफ्नो भोगाधिकारमा रहेको जग्गाबारे वडाध्यक्षसहित स्थानीयलाई जानकारी हुँदाहुँदै आर्थिक प्रलोभनमा परी किर्ते कागजात तयार गरी बिक्री वितरणमा भूमिका खेलेको आरोप उनले लगाएका छन्।
ठाकुरले वडाध्यक्ष यादवले आफ्ना नजिकका व्यक्ति सुदीप प्रताप यादव र शम्भुप्रसाद केवटलाई अघि सारेर स्थानीयलाई विद्युत् मिटरको सिफारिसका लागि हस्ताक्षर गर्नुपर्ने भन्दै झुक्याएर सर्जमिनमा हस्ताक्षर गराएको दाबी गरेका छन्।
सर्जमिनमा हस्ताक्षर गरेका सन्तराम मुसहर र जितबहादुर थारूले समेत आफूहरूलाई फरक उद्देश्य देखाएर हस्ताक्षर गराई दुरुपयोग गरिएको भन्दै वडाध्यक्ष हरेन्द्र यादव, कम्प्युटर अपरेटर राजकुमार गुप्ता र कार्यालय सहयोगी विन्ध्याचल राजभरविरुद्ध उजुरी दिएको जनाइएको छ।
भोगचलनभन्दा बढी जग्गा पास गरिएको दाबी
जाहेरीकर्ताहरूले मुद्दा कमजोर बनाउने उद्देश्यले भोगचलन गरिरहेका व्यक्तिहरूमध्ये राजेश यादव र असर्फी यादवको नाममा उनीहरूले भोगचलन गरेको भन्दा बढी क्षेत्रफलको जग्गा पास गरिएको आरोपसमेत लगाएका छन्।
जाहेरीकर्ताका अनुसार राजेश यादवले १ बिघा ५ कठ्ठा जग्गा भोगचलन गरिरहेको अवस्थामा १ बिघा १० कठ्ठा १० धुर तथा असर्फी यादवले १३ कठ्ठा जग्गा भोगचलन गरिरहेको अवस्थामा १९ कठ्ठा १० धुर जग्गा २०८२ असार २५ गते पास गरिएको दाबी गरिएको छ।
वडा कार्यालयका कागजातमाथि पनि प्रश्न
अनुसन्धानका क्रममा वडा कार्यालयबाट जारी गरिएका विभिन्न कागजातमा नाम, नाता र हस्ताक्षरसम्बन्धी विषयमा समेत प्रश्न उठाइएको छ।
२०५८ सालमा रमावती देवी रायले आफ्ना नाति चन्द्रप्रकाश राय र आयुषकुमार रायलाई जग्गा नामसारी गर्दा ससुराको नाम ‘अवध नारायण राय’ उल्लेख गरिएको भए पनि २०८२ वैशाख २९ गते सुदीप प्रताप यादव र शम्भुप्रसाद केवटलाई जग्गा बिक्री गर्दा सोही व्यक्तिको नाम ‘सुर्ज विक्रम राय’ उल्लेख गरिएको दाबी गरिएको छ।
जाहेरीकर्ताहरूका अनुसार सरकारी कागजातमा ‘सुर्ज विक्रम राय’ नामका व्यक्ति परिवारसँग सम्बन्धित रहेको प्रमाण भेटिँदैन। अर्कोतर्फ, २०५२ सालमै स्वर्गीय अवध नारायण रायको नाममा हाल वडा कार्यालय रहेको स्थानमा १ कठ्ठा १० धुर जग्गा रहेको र उक्त जग्गा उनका नातिले निर्माण गरी भवन हस्तान्तरण गरेको शिलालेखसमेत रहेको बताइएको छ। उक्त भवन हाल प्रयोगशाला कक्षका रूपमा प्रयोग हुँदै आएको जनाइएको छ।
त्यस्तै, २०८२ वैशाख २१ गते वडा कार्यालयबाट जारी गरिएको नाता प्रमाणित कागजातमा रमावती राय र राजु रायबीच भतिजाको नाता रहेको उल्लेख गरिएको भए पनि उक्त कागजातमा निवेदक तथा राजु राय दुवैको हस्ताक्षर वा औँठाछाप नरहेको दाबी गरिएको छ।
मालपोत कार्यालयमा जग्गा खरिद–बिक्री गर्दा बाजेको नाम उल्लेख गर्ने स्थानमा राजु रायको बाजेको नाम ‘अवध नारायण राय’ लेखिएको तर वडा कार्यालयबाट जारी नाता प्रमाणित कागजातमा उनलाई फरक नाता कायम गरिएको आरोपसमेत लगाइएको छ।
यस्तै, २०८२ वैशाख २९ गतेको राजीनामा लिखतमा हस्ताक्षर र औँठाछाप दुवै प्रयोग गरिएको देखिए पनि अन्य कागजातमा सम्बन्धित व्यक्तिले औँठाछाप मात्रै प्रयोग गरेको भन्दै हस्ताक्षरसमेत अर्कै व्यक्तिले गरेको हुनसक्ने आशंका जाहेरीकर्ताहरूले गरेका छन्।
जग्गा कारोबारमा बैंकिङ कारोबार देखिनुपर्ने भए पनि करिब १ करोड ११ लाख ८० हजार रुपैयाँ सामान्य तमसुकमार्फत बुझाएको देखिएको दाबीसमेत गरिएको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको संलग्नता, कागजातको वास्तविकता तथा जग्गा कारोबारमा भएको भनिएको आर्थिक तथा प्रशासनिक मिलेमतोबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। आरोपितहरूमाथिको अनुसन्धान र अदालतको प्रक्रियापछि मात्रै घटनाको वास्तविकता तथा दोषी–निर्दोषको अन्तिम टुंगो लाग्नेछ।