ललितपुर, १० पुस ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सवारी चालक अनुमतिपत्रको आवेदन अनलाइनबाट सुरु भएपछि सेवाग्राहीले छिटो सेवा पाउने भएकोमा खुशी व्यक्त गरेका छन ।
यातायात व्यवस्था विभाग सवारी, चालक अनुमतिपत्र कार्यालय एकान्तकुनाद्वारा आज यहाँ आयोजित सवारी चालक अनुमतिपत्रको आवेदन अनलाइनबाट दर्ता गर्ने कार्यक्रमको शुभारम्भ गर्दै उनले नागरिकलाई सुविधा प्रदान गर्ने उद्देश्यले अनलाइन सेवाको व्यवस्था गरिएको बताए ।
मन्त्री लेखकले यातायात क्षेत्रमा पहिलोपल्ट प्रारम्भ भएको अनलाइन सेवालाई थप सुधार गरिँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै यो व्यवस्था बागमतीस्थित एकान्तकुना कार्यालयमा सिमित नभएर छिट्टै देशभरका कार्यालयमा सुरुवात गरिने बताए ।
चालक अनुमतिपत्रको आवेदनमात्र नभएर निकट भविष्यमै नवीकरण र सवारी व्लूबुकलाई समेत अनलाइनबाटै सेवा दिने उद्देश्य रहेको उनले भने ।
विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले अनलाईन माध्यमले दैनिकरुपमा धेरै कष्ट गरेर आवेदन भर्नुपर्ने अवस्थाको अन्त्य हुनुका साथै समयको बचतसमेत हुने बताए ।
अनलाइनबाट दुई पाङ्ग्रे मोटरसाइकल (ए) र स्कुटर(के)का लागि आवेदन भर्न सक्ने उनले बताए ।