विद्युत्भार कटौती अभियानमा अवरोध नगर्न कर्मचारी सङ्गठनको आग्रह

विद्युत्भार कटौती अभियानमा अवरोध नगर्न कर्मचारी सङ्गठनको आग्रह


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० पुष २०७३
  • 8K
    Shares

काठमाडौँ, १० पुस ।

काठमाडौँ उपत्यकामा जारी विद्युत्भार कटौती मुक्त अभियानमा अवरोध नगर्न र नेपाल विद्युत् प्राधिकरणमा राजनीतिलाई हाबी हुन नदिन नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (संयुक्त)ले आग्रह गरेको छ ।

प्राधिकरणमा क्रियाशील नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेविप्रा राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेनशले पारित गरेका नीति तथा कार्यक्रमका बारेमा आज जानकारी दिँदै सङ्गठनले लामो समयदेखि विद्युत्भार कटौती गरेर मुलुकको आर्थिक विकासमा अवरोध गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

सङ्गठनले प्राधिकरणलाई नाफामा लैजान अनावश्यक राजनीतिक नगर्न र युनियनको नाममा व्यवस्थापनलाई अटेर गर्ने काम नगर्न तथा विद्युत्भार कटौतीमुक्त अभियानमा असहयोग गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन पनि आग्रह गरेको छ ।

काठमाडौँमा मात्रै विद्युत्भार कटौतीको अन्त्य हुँदा आमनागरिकमा राहतको महसुस भएकोे, उद्योग व्यवसायमा सकारात्मक परिणाम उत्पन्न भएकामा खुसी व्यक्त गर्दै प्राधिकरणभित्र रहेको अनियमितता, भ्रष्टाचार नियन्त्रण गर्न सङ्गठनले आग्रह गरेको छ ।

प्राधिकरणले अगाडि बढाएका आयोजना तत्काल पुरा गर्न, प्राधिकरणको संस्थागत सुधारमा ध्यान दिन तथा ट्रेड युनियनलाई मर्यादित बनाउनसमेत सङ्गठनले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

मुलुकको ऊर्जा क्षेत्रको विकासमा केही सकारात्मक सङ्केत देखा परेको अवस्थामा त्यसलाई पूर्णता दिन विवाद गर्नुको अर्थ छैन भन्दै सङ्गठनले ट्रेड युनियन सहयोगी बन्नुको साटो असहयोगी भएकामा आपत्तिसमेत प्रकट गर्नुपरेकोे अध्यक्ष खगेन्द्र शाहीले जानकारी दिए ।

शाहीको अध्यक्षमा नयाँ समिति

प्राधिकरणमा क्रियाशील नेविप्रा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र नेविप्रा राष्ट्रिय कर्मचारी सङ्गठनको एकता महाधिवेशनले खगेन्द्र शाहीको अध्यक्षतामा ९७ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (संयुक्त) गठन गरेको छ ।

प्रतिक्रिया