संशोधन प्रस्ताव मुलुकको हितमा छैन : ओली

संशोधन प्रस्ताव मुलुकको हितमा छैन : ओली


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ९ पुष २०७३
  • 7.3K
    Shares

बागलुङ, ९ पुस ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव पास नहुने बताए।

नेकपा (एमाले) बागलुङको आठौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले संशोधन प्रस्ताव मुलुकको अहितमा रहेको उल्लेख गरे ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले संशोधन प्रस्तावका बारेमा संसद्मा छलफलसमेत नहुने जिकिर गरे । देश र जनतालाई आघात पु¥याउने गरी संशोधन प्रस्ताव आएकाले त्यो एमालेलाई मान्य नहुने उनको भनाइ छ । अध्यक्ष ओलीले भने – “संविधान संशोधन अहिलेको आवश्यकता होइन ।” उनले ५ नम्बर प्रदेश टुक्र्याउने गरी ल्याइएको प्रस्तावले नेपालीलाई विभाजन गर्ने पनि बताए।

मुलुकलाई यथाशक्य छिटो निर्वाचनमा लानुपर्ने भन्दै उहाँले संविधान संशोधनसँग निर्वाचनको कुनै सम्बन्ध नभएको तर्क गरे । “निर्वाचन मुलुकको अहिलेको आवश्यकता हो, निर्वाचन गर्न संविधानले छेकेको छैन”, अध्यक्ष ओलीले भने – “रुपान्तरित व्यवस्थापिका–संसद्को काम निर्वाचनसम्बन्धी कानुन बनाउने हो, संविधान संशोधन गर्ने होइन ।”

ओलीले सामाजिक न्याय र समानताको बाटोबाट मुलुकलाई आर्थिक समृद्धितिर लैजानुपर्ने बताउँदै सबै नेपाली राष्ट्र निर्माणमा एकजुट हुनुपर्ने धारणा गरे । उनले आजै बागलुङमा अवस्थित ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन गरे।

भोलि सोमबारसम्म चल्ने अधिवेशनले नेकपा (एमाले) बागलुङको भावी नेतृत्व चयन गर्नेछ । अधिवेशनमा जिल्लाभरबाट ५९२ जना प्रतिनिधि सहभागी छन् ।

प्रतिक्रिया