महिला हिंसा घटाउन राज्यका सबै निकायबीच समन्वय हुनुपर्ने

महिला हिंसा घटाउन राज्यका सबै निकायबीच समन्वय हुनुपर्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ पुष २०७३
  • 8.3K
    Shares

काठमाडौं, ८ पुस ।

महिला हिंसा घटाउने दायित्व र जिम्मेवारी बोध गराउन राज्यका सबै निकायबीच समन्वय हुनुपर्नेमा सरकारले जोड दिएको छ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यशाला गोष्ठीका वक्ताले जिम्मेवार निकायको समन्वयबाट मात्र महिला हिंसा रोक्न सकिने धारणा राखेका हुन्।

सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले महिलामाथि हुने अन्यायलाई रोक्न कानुनी संरचना पर्याप्त भए पनि कार्यान्वयनमा चुनौतीपूर्ण रहेको बताए।

उनले राजनीतिमा महिलाको सहभागिता उत्साहजनक भए पनि त्यसलाई स्थानीयकरण गर्न नसकिएकाले विकेन्द्रीकरण गरेर लैजानुपर्ने बताए।

महिला हिंसासम्बन्धी अभिमुखीकरण कार्यक्रम अभिकर्तामुखीभन्दा पनि सेवाग्राहीमुखी हुनुपर्नेमा जोड दिँदै मुख्यसचिव डा सुवेदीले तल्लोस्तरका महिलाका सशक्तीकरणमा सम्बन्धित सबैको ध्यान जानुपर्ने बताए।

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले महिला हिंसाका घटनालाई घटाउन सबै सङ्घसंस्था एवम् राज्यका निकाय जिम्मेवार हुनुपर्ने बताए।

कार्यक्रममा अन्तर्राष्ट्रिय स्रोत व्यक्ति जरियाना, अब्दुल अजिजले महिला हिंसा रोक्नका लागि अपनाउनुपर्ने रोकथाम, संरक्षण, अभियोजन, दण्ड सजाय र सम्बोधन संयन्त्रका विषयमा स्पष्ट पारिन्।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, गृह, महिला हिंसाविरुद्धको अभियानमा सक्रिय सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार