आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले मोरङको रंगेली स्थित एमालेका तीनजना नेताको घरमा बुधबार राति आक्रमण गरेका छन् । रंगेली–५ स्थित नेताहरुको घरमा मोर्चाका कार्यकर्ताले एकैसाथ आक्रमण र ढुंगामुडा गरेका हुन् ।
एमाले रंगेली नगर इन्चार्ज दिनेश ठाकुर, ४ नम्बर क्षेत्रका क्षेत्रीय सहइन्चार्ज सन्तोश साह र एमाले जिल्ला सदस्य मनोज अग्रवालको घरमा एकै पटक आक्रमण भएको प्रहरीले बताएको छ । मोर्चाका कार्यकर्ताले ठाकुरको घरमा पाहुनालाई बस्नका लागि बनाइएको टेन्ट भत्काएर प्लाष्टिकका कुर्सी तोडफोड गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अविचन्द्र रिजालले बताए ।
रिजालका अनुसार साह र अग्रवालको घरमा ढुंगामुढा गरेर क्षति पु¥याइएको छ । एमाले सम्बद्ध युवा संघ नेपालले तराई मधेस सम्बाद तथा जागरण अभियान अन्तर्गत बिहीबार रंगेलीमा सभा गर्ने तयारी गरेपछि मोर्चाले त्यस क्षेत्रमा आफ्नो आन्दोलन चर्काएको छ । त्यही विषयलाई लिएर बुधबार साँझ युवा संघका कार्यकर्तामाथि मोर्चाका कार्यकर्ताले आक्रमणको प्रयास समेत गरेका थिए ।
दुवै पक्षबीच दोहोरो झडपको स्थिती उत्पन्न भएपछि प्रहरीले रोकेको थियो । प्रहरीसंगको झडपमा चारजना मोर्चाका कार्यकर्ता समेत घाइते भएका छन् । युवा संघका कार्यकर्ताको प्रतिकारका कारण पछि हटेका मोर्चाका कार्यकर्ताले एमाले नेताको घरमा गएर राति आक्रमण गरेको युवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीले बताए ।
बुढाथोकीका अनुसार मोर्चाले संघको रंगेली स्थित सम्पर्क कार्यालय अगाडि संघका कार्यकर्तालाई लक्षित गरेर पेट्रोल बमसमेत प्रहार गरेको थियो । उनका अनुसार युवा संघले सभास्थल नेपाल बैंकको चौरबाट परिवर्तन गरेर इलाका प्रहरी कार्यालय नजिकै बनाइएको छ । संघले जागरण अभियान अन्तर्गत सभा गर्ने र सभालाई सम्वोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याउने प्रचार गरेर यस अघिदेखिनै रंगेलीमा विभिन्न गतिविधीहरु गर्दै आएको थियो ।
ओली रंगेली आउने चर्चासँगै त्यसको विरोधमा मोर्चाले बुधबारबाट यस क्षेत्रमा आमहड्ताल घोषणा गरेर युवा संघको कार्यक्रम विथोल्ने प्रयास गरिरहेको छ । मोर्चाले पनि रंगेलीको दुर्गा मन्दिरनजिकै बिहीबार सभा राखेको छ । एकै स्थानमा एउटै समयमा सभा राखिएपछि संघ र मोर्चाका कार्यकर्ताबीच झडपको सम्भावना बढेको छ ।
संघको सभालाई सम्वोधन गर्न प्रधानमन्त्री ओली आउने कार्यक्रम स्थगित भएको र एमाले महासचिव इश्वर पोखरेल लगायतका नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको अध्यक्ष बुढाथोकीले बताए ।
मोर्चाको सभालाई भने जिल्ला स्तरिय नेताहरुले मात्र सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चा संयोजक एवं संघिय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले बताए । यादव नेत्रृत्वमा मोर्चाले रंगेलीमा सभा गर्ने भएको हो ।