काठमाडौं, ७ पुस ।
लोक गायक तथा संगीतकार मधुबाबु थापाको निधन भएको छ । बिहीबार सानेपास्थित निवासको बाथरुममा लडेर उनी बेहोस भएका थिए । तत्कालै बागबजारस्थित मोडल अस्पताल पुर्याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दाङको सौडियार गाविस ५ राजपुर घर भएका मधुबाबु दृष्टिविहीन थिए । उनले दर्जनौं लोकगीत, भजन, आधुनिक गीतमा स्वर तथा संगीत दिएका छन् । उनी रेडियो नेपालको जागिरे थिए ।
उनले चन्द्रकला शाहसँग गाएको ‘मोहनी लगायौ की जन्तर गरेर…’ बोलको थारु मेलोडीको लोक गीत निकै चर्चित थियो ।
रेडियो नेपालमा रेकर्ड भएको उनको पहिलो गीत भने ‘भैगो हजुर माया जाल नबुन…’ हो ।
उनले झण्डै पाँचसय गीतमा स्वर र संगीत दिएका छन् । लोक, आधुनिक, भजन, शास्त्रीय संगीत सबै क्षेत्रमा उनले हात हालेका छन् ।
मधुबाबुको पार्थिव शरिरलाई भोलि प्रज्ञा भवनमा श्रद्धाञ्जलीका लागि राखिने पारिवारिक स्रोतले बताएको छ ।