सल्यान जिल्लाको कुपिन्डेदहकी एक महिलालाई अमानवीय व्यवहार गर्ने चार जनालाई जिल्लाअदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ । कुपिन्डेदह–४ ज्यामिरेकी २० वर्षीया एक महिलालाई अमानवीय व्यवहार गर्ने सोही ठाउँका रूपलाल दमाई, पातली बुढा, पिमकली बुढा र कुपिन्डेदह–५ की ४५ वर्षीया लली पुनलाई ५ वर्ष कैद र जनही ५० हजार रुपैयाँको फैसला सुनाएको जिल्ला अदालत सल्यानका निमित्त स्रेस्तेदार हरि राम्जाले बताए ।
बिरामी परेकी ती महिलालाई गएको २४ जेठमा बोक्सी लागेको र भगाउने भन्दै निको बनाउने बहानामा मण्डलीमा राखेर सिस्नोले हानेको, दिसा खुवाएको तथा कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका थिए ।
२४ जेठमा घटना भएको भए पनि पीडित महिलाको अवस्था नाजुक बन्दै गएपछि परिवारले ढिलो गरी साउन ५ गते मात्रै घटना सार्वजनिक गरेको थियो । घटनापछि प्रहरीले अमानवीय व्यवहार गरेको आरोपमा गएको साउन ६ गते ५ जनालाई पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश माधवेन्द्र प्रसाद रेग्मीको इजलासले सोही घटनामा संलग्न रहेको आरोप लागेकी २१ वर्षीया रूपा थापालाई भने सफाइ दिएको छ ।