रेस्टुरेन्टमा काम गर्ने एक युवतीका कारण काठमाण्डौको जोरपाटीमा ट्याक्सीचालक राजकुमार लामाको मृत्यु भएको खुलेको छ । प्रहरीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ । जोरपाटीस्थित रेस्टुरेन्टमा काम गर्ने माया तामाङ नामक युवतीको विषयलाई लिएर उनीमाथि इँटा प्रहार हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही रेस्टुरेन्ट सञ्चालिकाका भाइले इँटाले हानेको प्रहरी स्रोतले बताएको छ । प्रहरीले लामालाई राति साढे १० बजे घाइते अवस्थामा फेला पारी अस्पताल पुर्याउने क्रममा मृत्यु भएको थियो । उनको टाउकोमा चोट थियो । रेस्टुरेन्ट सञ्चालिका र उनका भाइलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
हत्यारालाई पक्राउ नगरेको भन्दै स्थानीयले आइतबार महानगरीय प्रहरी बिट नयाँबस्तीमा आगजनी गरी प्रहरीलाई आक्रमण गरेका थिए । मृतकका आफन्तले युवतीलाई प्रहरीले जोगाउन लागेको आरोप लगाएका थिए ।
अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार राजकुमार र माया तामाङबीच निकटता थियो । उनलाई भेट्न राजकुमार पटक–पटक रेस्टुरेन्ट जाने गरेका थिए । जुन कुरा होटेल सञ्चालिकाका भाइलाई मन परेको थिएन । दुवैले मदिरा पिएको वेला झगडा हुँदा उनीमाथि इँटाले हानेको अनुसन्धानमा खुलेको छ । अन्य केही शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको बौद्ध वृत्तका डिएसपी विपिन रेग्मीले बताएका छन् ।
महानगरीय प्रहरी कार्यालयले घटनाको विस्तृत छानबिनका लागि एसएसपी सर्वेन्द्र खनालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । समितिमा महानगरीय प्रहरी परिसर काठमाडौैंका एसपी प्रद्युम्न कार्की र महाशाखाकै डिएसपी दीपक रेग्मी सदस्य छन् । प्रहरीमाथि आक्रमणका पछाडि भने धेरैवटा कारण रहेको प्रहरी अधिकारीको अनुमान छ ।