उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले हिरासतभित्र यातना दिने असईसहित तीन प्रहरीलाई विभागीय कारवाही गर्न र पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । यसअघि बाँके जिल्ला अदालतले पनि त्यही फैसला सुनाएको थियो ।
जिल्ला अदालतको फैसलाबिरुद्ध परेको पुनराबेदनमा मंगलबार सुनुवाई गर्दै न्यायाधीश डा. कुलरत्न भुर्तेल र बीरबहादुर डाँगीको संयुक्त इजलासले सुरुकै फैसला सदर गरेको हो । बाँके कचनापुर ७ टिकुलीपुरका ३७ बर्षीय झुपबहादुर बिष्टले प्रहरी चौकी गाभरपुर अगैया बाँकेका तत्कालिन प्रमुख प्रहरी सहायक निरीक्षक बुद्धिप्रसाद शर्मा, प्रहरी हवल्दार धनबहादुर चन्द र प्रहरी जवान मानबहादुर थापाबिरुद्ध हिरासतभित्र यातना दिएको भन्दै उजुरी गरेका थिए । अदालतले विष्टलाई हिरासतमा राखेर यातना दिएको ठहर गर्दै संलग्न प्रहरीलाई विभागीय कारवाही गर्न मातहातका निकायलाई पत्राचार गर्ने निर्देशन दिएको छ ।
०७० साउन १ गते कुसुमबाट घर फर्किने क्रममा अगैयामा भइरहेको नाचगान हेर्न क्रममा विवाद हुँदा प्रहरीले विष्टलाई पक्राउ गरी यातना दिएको थियो । यातनाका कारण उनको आँखा, टाउको, पिठ्यु र दुबै घुँडाको माथिल्लो भागमा चोट लागेको थियो । त्यस्तै बायाँ आँखा, छातिमा रगत जमेको र दाँतसमेत भाँचिएको थियो । पीडित विष्टले ०७० साउन ९ गते बाँके अदालतमा क्षतिपूर्ति र कारवाहीका लागि मुद्दा दर्ता गरेका थिए । ‘विष्टलाई अगैया प्रहरीले पक्राउ गरी हिरासतभित्र कुटपिट गरेको मुद्दामा संलग्न प्रमाणले पुष्टि गरेका छन् । त्यसैले निजलाई एक लाख रुपैया क्षतिपूर्ति दिन र घटनामा संलग्न जुनियर प्रहरी अधिकृतसहित तीन प्रहरीलाई विभागीय कारवाहीका लागि लेखि पठाउने ठहर छ,’ अदालतको फैसलामा छ ।
पीडित विष्टले उपचारमा करिव एक लाख रुपैयाँ खर्च भइसकेको बताएका छन् । उनले काठमाडौंस्थित तिलगंगा अस्पतालमा दुई पटक आँखाको शल्यक्रिया गराई सकेका छन् । अधिवक्ता बसन्त गौतमले अदालतबाट यातना तथा क्षतिपूर्तिका लागि भएको फैसलाले पीडितमा न्याय पाउने आश जागेको बताए ।