डा. केसीको अनसन तोडिए लगतै काउण्टर आन्दोलन सुरु

डा. केसीको अनसन तोडिए लगतै काउण्टर आन्दोलन सुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २० मंसिर २०७३
  • 9.9K
    Shares

प्रा. डा. गोविन्द केसीको अनसन तोडिएको केही छिनमै त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा अर्को काउण्टर आन्दोलन सुरु भएको छ । आईओएम बचाउ अभियान संघर्ष समितिले चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन डा.जगदीशप्रसाद अग्रवाललाई हटाउन माग गर्दै तालाबन्दी गरेको छ ।

प्राध्यापक, चिकित्सक, नर्सिङ, फ्याकल्टी, कर्मचारीलगायतको आइतबार बसेको बृहत् बैठकले ६ बुँदे माग पूरा नभए सोमबारदेखि संस्थानअन्तर्गतका सबै आंगिक क्याम्पसमा पठनपाठनमा सरिक नहुने निर्णय गरेको समितिका उपसंयोजक डा. अभिमन्यु झाले जनाएका छन् ।

बैठकले त्रिवि कानुनअनुसार कात्तिक २८ मा नियुक्त डिन डा. केपी सिंहलाई भावनात्मक ब्ल्याकमेलिङ गरेर दबाबपूर्ण ढंगबाट राजीनामा दिन बाध्य पारिएको उल्लेख गर्दै उनलाई पुनर्बहाली गर्न माग गरेको छ । वर्तमान डिन नियुक्ति प्रक्रिया त्रिवि नियमसंगत नभएको जनाउँदै स्वायत्त संस्थामा सरकारी हस्तक्षेप निम्त्याई प्रक्रिया मिचेर नियुक्त डिन डा. अग्रवाललाई स्वीकार गर्न नसकिने निर्णयसमेत बैठकले गरेको छ ।  डा. केसीको मागहरु मध्ये सिंहलाई डिनबाट बर्खास्त पनि एक थियो ।

डा. सिंहको समर्थनमा सबै विभागीय प्रमुख, प्राध्यापक, कर्मचारी भए पनि राजीनामा गर्न बाध्य पारिएको उल्लेख गर्दै बैठकले अब संस्थान परिवारलाई मान्य हुने डिन नियुक्त गर्नसमेत माग गरेको जानकारी झाले दिए । उनका अनुसार सबैलाई मान्य हुने डिन नियुक्तिको नयाँ निर्णय नभएसम्म डा. सिंहलाई नै डिनको जिम्मेवारी दिन बैठकले त्रिभुवन विश्वविद्यालयसमक्ष माग गरेको छ । संघर्ष समितिले माग पूरा नभएसम्म डिन कार्यालयमा गरिएको तालाबन्दीलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया