एमाले अध्यक्ष ओलीले भने ‘संविधान संशोधन हुदैन हामी विजय प्राप्त गर्छौ

एमाले अध्यक्ष ओलीले भने ‘संविधान संशोधन हुदैन हामी विजय प्राप्त गर्छौ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १८ मंसिर २०७३
  • 8.4K
    Shares

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव विरुद्धको आन्दोलनमा आफ्नो पार्टीले विजय प्राप्त गर्ने बताएका छन् ।

सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालको १२ औं साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेनिकट युवा संघ र अनेरास्ववियुले देशव्यापी थालेको आन्दोलनमा अन्य जनसंगठनको पनि ऐक्यवद्धता सुरु भएको र बुटवललगायतका स्थानमा आन्दोलनको पक्षमा स्वतःस्फुर्तरुपमा जनसमर्थन बढेकोले प्रस्ताव विफल हुने बताए ।

पञ्चायती व्यवस्था ढाल्न झापा विद्रोह र आन्दोलनले प्रभावकारी भूमिका निर्वाह गरे झैँ सरकारका गलत कदमको विरोध र जनअपेक्षा र जागरणका पक्षमा एमाले कहिले पनि नथाक्ने उल्लेख गरे ।

उनले भने “त्यसबेला पनि पञ्चायती तानाशाहले आन्दोलन दबाउन कोसिस गरे तर हाम्रो झापा विद्रोहको धारले दमनलाई निस्तेज तुल्यायो । त्यसैले अहिले पनि हामी सफल हुन्छौँ ।

घाम र जुन रहुञ्जेल पञ्चायत रहन्छ भन्नेहरु हारेर गए, अब त घाम, जुन र धर्ती रहुञ्जेल एमाले रहिरहन्छ भन्ने दिन आएको छ ।’

कार्यक्रममा ओलीले प्रतिष्ठानको स्मारिका ‘सुखानी’ को लोकार्पण गरे ।

तत्कालीन सरकारले विसं. २०२९ फागुन २१ गते वाम आन्दोलनमा लागेका चार युवा नेतालाई झापाको घनघोर जंगल सुखानीमा लगेर गोली हानी हत्या गरिएको थियो ।

तिनै सहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, विरेनसिंह राजवंशी र नारायण श्रेष्ठको स्मृतिमा २०५६ सालमा प्रतिष्ठान स्थापना भएको थियो ।

प्रतिक्रिया