प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र मधेसी जनता पार्टीबीच गएराति गोप्य छलफल भएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा राति ७ बजेपछि भएको छलफलमा संविधान संसोधनको बिषयमा कुरा भएको एमाले उच्च स्रोतले जनाएको छ ।
एमाले महासचिव इश्वर पोखरेल र मधेसी जनता दलका अध्यक्ष महेश कलुवार सम्मिलित उक्त छलफलले वर्तमान समयमा संबिधान संशोधनको कुरा गर्नु मधेशी मोर्चा र सत्ता पक्षको जनता झुक्याउने नाटक मात्र भएको निष्कर्ष निकालेको छ । संबिधान संशोधन खारेजीको माग गर्दै सडक र सदनबाट आन्दोलनमा उत्रिएको एमाले र संबिधान संशोधन खारेजीकै पक्षमा उभिएको मधेसी जनता दलबीचको यो गोप्य छलफललाई रहस्यमय रुपमा हेरिएको छ ।
त्यति मात्र होइन, मधेसी जनता दलका अध्यक्ष कलुवार एमालेमा जान खोजेको पनि कतिपयको भनाइ छ । यस विषयमा कलुवारसँग कुरा गर्न खोज्दा राजनितिमा जे पनि हुनसक्ने भन्दै असम्भव भन्नेकुरा केहि नरहेको प्रतिक्रिया दिए ।
‘केहि मधेसी नेताहरु बाबुरामको पछि लागेको देखिएकै छ, हाम्रा माग पुरा गर्न एमालेसँगै अघि बढ्दा के नै फरक पर्छ र ?’ उनले भने । तर उनका निकटतमहरुले भने अहिले एमालेसँग बढाएको भेटघाट, छलफल अनुसार उनि एमालेको नजिक रहेको र एमालेमै प्रवेश गर्न खोजेको समेत बुझिएको छ ।
बिहिबार राति एमाले महासचिव पोखरेलसँगको भेटमा समेत यो विषयमा कुरा भएको श्रोतको दाबी छ ।